काठमाडौं । भारतको नयाँ दिल्लीमा आयोजना हुने नवौँ संस्करणको एक्जिम बजार २०२२ प्रदर्शनीमा नेपाल हस्तकला महासंघले सहभागिता जनाउने भएको छ । परम्परागत, समकालीनलगायत हस्त शिल्पकला, हस्तकलालगायत विभिन्न कला उत्पादनमा संलग्न उद्यमी व्यवसायी, कलाकार एवं कलाकर्मीहरुलाई प्रदर्शनी एवं बिक्री कार्यक्रमको माध्यमबाट वस्तु एवं बजार प्रवर्द्धनमा सहयोग पु-याउने उद्देश्यले सो प्रदर्शनी यही सेप्टेम्बर ३ देखि ६ तारिखसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुँदै छ ।
भारतको इन्डिया एक्जिम बैंकको आयोजनामा नेसनल क्राफ्ट् म्युजियम एण्ड हस्तकला एकेडेमी नयाँ दिल्लीमा हुनलागेको सो प्रदर्शनीमा नेपाल हस्तकला महासंघद्वारा मैनमूर्ति कलाकार मनोज शाक्य, फिलिग्री कलाकार सुरज शाक्य, काष्ठ कलाकार बज्र बहादुर शिल्पकार, रेशाजन्य वस्तु विधाका कलाकार तथा उद्यमी रमेश श्रेष्ठ र धातुमूर्ति कलाकार उदिप शाक्य गरी पाँच जना महासंघका सदस्यहरुले प्रतिनिधित्व गर्नेेछन् ।