काठमाण्डौं,फागुन १६
प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको छैठोैँ सँस्करण बाँकेको नेपालगञ्जमा हुने भएको छ । आगामी आईतबारदेखी हुन लागेको प्रतियोगितामा करिब ३० लाख खर्च लाग्ने आयोजकले बताएको छ । यसअघि नेपालगञ्जमै पाँचवटा संस्करण सम्पन्न भइसकेका छन् ।नेपालगञ्जमा सम्पन्न यसअघिका पाँचवटा संस्करण सञ्चालनका लागि विनियोजित बजेट र लागत खर्चको विवरण अहिलेसम्म सार्वजनिक गरिएका छैनन् । यस पटकको प्रतियोगिता सम्पन्न गर्नका लागि भने करिब ३० लाख बजेट आवश्यक पर्ने देखिएको आयोजकको भनाइ छ । जसमा संघीय, प्रदेश, स्थानीय सरकार र खेलकुद परिषद्बाट आयोजकहरुले सहयोगको अपेक्षा गरेका छन । यसअघिका प्रतियोगिताको आर्थिक आय व्यय र खर्चको विवरण प्रभावकारी सार्वजनिक हुन नसेको चौतर्फी गुनासो पनि आइरहेको छ । तर, अहिले हुन लागेको छैठौं प्रधानमन्त्री कप महिला भलिवल प्रतियोगीताको आम्दानी र खर्चको विवरण प्रतियोगीता सम्पन्न भएको केही दिनमै पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने छैठौँ प्रतियोगिता मुल समारोह समितिका संयोजक प्रदेश सांसद कृष्णा केसी ‘नमुना’ले बताइन् ।
उनका अनुसार फागुन २२ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि सार्क राष्ट्रका शीर्ष क्लबलाई आमन्त्रण गरिएको छ । प्रतियोगितामा नेपालसँगै भारत, बंगलादेश, श्रीलंका र माल्दिभ्सका शीर्ष क्लवका खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा प्रथम हुने टिमले दुईलाख, उपविजेतालाई एकलाख र तृतीय हुने टिमलाई ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरिएको छ ।नेपाल– भारतका क्लवले मात्र सहभागिता जनाउँदै आएको प्रतियोगितालाई दक्षिण एसियाकै एक नम्बर बनाउने लक्ष्य लिएको संघका अध्यक्ष टिएस ठकुरीले बताए । अघिल्ला वर्षभन्दा बढी टिम सहभागी बनाउने पहल भइरहेको पनि उनले बताए । बाँकेको नेपालगञ्जमा प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगीता २०७० देखि सुरु गरिएको थियो ।