काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार पर्वत घर भई काठमाडौं महानगरपालिका १६ नयाँबजार बस्ने ३५ वर्षीय इन्द्र बहादुर कुँवरलाई आइतबार पक्राउ गरिएको हो ।
उच्च अदालत पाटनको २०७९ वैशाख २ गतेको फैसलाले बैंकिङ कसुर मुद्दाका तीन थान मुद्दामा २५ दिन कैद र ६१ लाख ५४ हजार आठ सय ७५ रूपैयाँ जरिवाना ठहर भई फरार रहेकोमा उनलाई सीआईबीबाट खटिएको टोलीले काठमाडौंको सुन्धाराबाट पक्राउ गरेको हो । कुँवरले बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई एनआईसी बैंक लिमिटेड शाखा कार्यालय सोह्रखुट्टे काठमाडौंमा रहेको उनकै खाताबाट रकम भुक्तान हुने भनी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार काठमाडौंमा पठाइएको सीआईबीले जानकारी दिएको छ ।