काठमाण्डौं,फागुन १६
नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ नेल्टाको दोस्रो राष्ट्रिय महाधिवेशनमा कांग्रेस नेताहरुले पछिल्लो समयमा सरकारले कृषि क्षेत्रमा छुट्याउने बजेटमा कमी आउँदै गएको बताएका छन् । कृषिमा बजेट बीपी कोइरालाका पालामा ३० प्रतिशत हुने गरेको भन्दै अहिले डेढ प्रतिशतमा आएको बताए । कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्राविधिक जनशक्ति उत्पादन गर्न सके केही वर्षभित्रै मुलुकमा आर्थिक क्रान्ति हुने बताए । नेल्टाको दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले युवा पलायन रोक्नका लागि पनि प्राविधिक शिक्षालाई विस्तार गर्नुपर्नेमा जोड दिए । ‘देशभरिका २० हजारभन्दा धेरै पशु प्राविधिकहरूले सेवा गरिरहेका छन्, रोजगारी वृद्धि गर्नकै लागि पनि प्राविधिक जनशक्ति उत्पादन गर्नुपर्छ भन्ने उदाहरण पशु स्वास्थ्य सेवा प्राविधिक संघ हो,’ उनले भने । देउवाले राज्यले नै प्राविधिक शिक्षाको व्यवस्था गरेर युवालाई पढ्न प्रेरित गर्नुपर्ने बताए । कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकता पूरा गरेर मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउनुपर्ने बताए ।
कृषि क्रान्ति कांग्रेसकै पालामा सुरू भएको उल्लेख गर्दै पौडेलले भने, ‘बीपी कोइरालाको नेतृत्वमा बनेको नेपाली कांग्रेसको सरकारले कृषिमा ३० प्रतिशत बजेट छुट्याएको थियो । अहिले डेढ प्रतिशत मात्रै छ । कांग्रेसले नै आधुनिक कृषि क्रान्तिका लागि योगदान गरेको हो ।’ कार्यक्रममा कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले आफ्नो पार्टी सत्तामा पुगेपछि कृषिको विकासमा दीर्घकालीन महत्त्वका कार्यक्रम निर्माण गरेर कार्यान्वयनमा ल्याउने बताए । ‘पशु स्वास्थ्य सेवा प्राविधिक संघले गरिरहेको काम ज्यादै महत्त्वपूर्ण छ, अहिलेको सरकारबाट सहयोग नपाए पनि कांग्रेसका सरकार बनेपछि सहयोग हुन्छ,’ कोइरालाले भने । कार्यक्रमका अन्य वक्ताले कृषिको आधुनिकीकरणमा वर्तमान सरकारले ध्यान दिन नसकेको टिप्पणी गरेका छन् । संघका केन्द्रीय सल्लाहकार हिमालय पोखरेलका अनुसार नेपाली कांग्रेसनिकट ट्रेड युनियन कांग्रेसको २७औँ संगठन नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघमा मुलुकभरि २० हजारभन्दा धेरै प्राविधिक संलग्न छन् । संघका अध्यक्ष जनकबहादुर रावलको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजसेवी विष्णु कार्की, हिराबहादुर खत्री र राजन प्रसाईंलाई सम्मान गरिएको छ ।