काठमाडौं । सेयरबजार परिसूचक उकालो लागेको छ । अघिल्लो दिन १३ दशमलव ५४ अंकले ओरालो लागेको सेयरबजार परिसूचक साताको तेस्रो कारोबार दिन मंगलबार भने २१ दशमलव तीन अंकले उकालो लागेर १९ सय ३४ दशमलव चार विन्दुमा चढेको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ८३ अंकले उकालो लागेर तीन सय ७६ दशमलव १७ विन्दुमा चढेको छ । यस दिन १३ वटा उपसमूहहरुअन्तर्गत दुई सय ३१ वटा कम्पनीहरुको सेयर खरिदबिक्री भएका छन् । जसबाट २० हजार पाँच सय २० पटकको कारोबारमा ३१ लाख ४६ हजार नौ सय ९६ कित्ता सेयर खरिदबिक्री भएका छन् । सोही खरिदबिक्रीका आधारमा यस दिन कुल सेयर कारोबार रकम ९२ करोड २५ लाख ७४ हजार चार सय १० रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यस दिन कारोबार भएका कुल उपसमूहहरुमध्ये सबै उपसमूहहरुको सूचक उकालो लागेर सेयरबजार पूरै हरियो भएको छ । जसमध्ये वाणिज्य बैंक उपसमूहको सूचक १० दशमलव ९१ अंकले उकालो लागेर १३ सय १३ दशमलव ३२ विन्दुमा चढेकोमा विकास बैंक उपसमूहको सूचक पनि ६० दशमलव तीन अंकले उकालो लागेर तीन हजार चार सय ८३ दशमलव छ विन्दुमा चढेको छ ।
जलविद्युत् उपसमूहको सुुचक पनि २० दशमलव ७८ अंकले उकालो लागेर २१ सय ७० दशमलव ७२ विन्दुमा चढेकोमा फाइनान्स उपसमूहको सूचक पनि ३४ दशमलव ११ अंकले उकालो लागेर १६ सय ३७ दशमलव ५२ विन्दुमा चढेको छ । निर्जीवन बीमा उपसमूहको सूचक पनि ५८ दशमलव ७७ अंकले उकालो लागेर सात हजार आठ सय ७४ दशमलव ४९ विन्दुमा चढेकोमा जीवन बीमा उपसमूहको सूचक पनि ९६ दशमलव २२ अंकले उकालो लागेर नौ हजार एक सय ७६ दशमलव ७१ विन्दुमा चढेको छ ।
यीबाहेक ट्रेडिङ , होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी उपसमूहहरुको सूचक पनि क्रमशः २७ दशमलव ५९, २९ दशमलव ९२, ९० दशमलव ६५, १५ दशमलव ८२, ५३ दशमलव ५८, शून्य दशमलव ११ र शून्य दशमलव ९५ विन्दुले उकालो लागेका छन् । यस दिन बढी कमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको बोटलर्स नेपाल लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेर २१ सय ३६ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ ।
दोस्रो स्थानमा परेको मैलुङखोला जलविद्युत् कम्पनीको प्रतिकित्ता सेयर मूल्य पनि सात दशमलव ७६ प्रतिशतले बढेर पाँच सय २८ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । यीबाहेक युनिभर्सल पावर कम्पनी, रिभर फल्स पावर लिमिटेड आदिको सेयर मूल्य पनि उकालो लागेका छन् । गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको नेपाल बैंक ऋणपत्रको प्रतियुनिट सेयर मूल्य नौ दशमलव ५९ प्रतिशतले घटेर नौ सय २२ रुपैयाँ २० पैसा अन्तिम मूल्यमा प्रतियुनिट सेयर किनबेच भएको छ ।
दोस्रो स्थानमा परेको राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयरतर्फ पनि प्रतिकित्ता सेयर मूल्य दुई दशमलव ३६ प्रतिशतले घटेर १० हजार आठ सय १८ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । यीबाहेक सामुदायिक लघुवित्त वित्तीय संस्था, नबिल ब्यालेन्स फण्ड आदिको सेयर मूल्य पनि ओरालो लागेका छन् । यस दिन नबिल बैंकको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त बैंकको प्रतिकित्ता सात सय ७० रुपैयाँ अन्तिम मूल्यमा पाँच करोड ९४ लाख ८९ हजार दुई सय ४७ रुपैयाँको सेयर किनबेच भएको छ ।
दोस्रो स्थानमा परेको रिडी हाइड्रोपावर कम्पनीको पनि प्रतिकित्ता पाँच सय ६४ रुपैयाँ अन्तिम मूल्यमा पाँच करोड ६३ लाख १० हजार छ सय ७३ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी, अरुण कावेली पावर लिमिटेड आदिको पनि बढी रकम कारोबार भएको छ ।