एजेन्सी कोलम्बो, फागुन १६
श्रीलंकाको यातायात सेवा प्रबन्धन मन्त्रालयले केन्द्रीय प्रान्तीय सहर कान्डीमा देशको पहिलो विद्युतीय रेल ट्र्याक निर्माण गर्ने निर्णय गरेको छ । कान्डी र उपनगरहरुमा यातायात सजिलो बनाउन रेल परियोजनाहरु छिटो विस्तार गर्ने विषयमा छलफल भइरहेको बेला राज्यका मन्त्री दिलुम अमुनुगामाले सरकारको उक्त योजनाबारे जानकारी गराएको बिहीबार डेली मिरर नामक राष्ट्रिय दैनिकले जनाएको छ । कान्डीको यातायात मन्त्रालयमा भएको छलफल, यातायात मन्त्री महिन्दा अमरवीराको अध्यक्षतामा भएको थियो ।
उनले नवलापितीयमा नयाँ रेल परियोजना विस्तार गर्ने योजना अघि सारिएको बताए । नयाँ रेलमार्गको ट्र्याक रामबुकाना र कादुगानावाको कातुगास्तोतादेखि कान्डीसम्म निर्माण गरिने बताइएको छ । सम्पूर्ण आयोजनालाई हाल उक्त क्षेत्रमा रहेका रेलमार्गमा सिमेन्टद्वारा निर्मित पिलरहरूको प्रयोग गरेर निर्माण गरिनेछ । स्पेनी कम्पनीले आयोजनाको निर्माणको जिम्मा पाएको आयोजना निर्माणको प्रारम्भिक चरणको सुरूवात बुधबार भएको हो ।