काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको बिहीबार बसेको चार सय तीनऔँ सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई आर्थिक वर्ष २०७८–०७९ को मुनाफाबाट नौ प्रतिशत लाभांश स्वीकृत गरेको छ । बैंकका अनुसार नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि उक्त लाभांश कार्यावयनमा आउने छ ।
सञ्चालक समितिको बैठकले प्रस्ताव गरेअनुसार आव २०७८/७९ को वितरणयोग्य मुनाफाबाट २०७९ असार मसान्तको चुक्ता पुँजी १४ अर्ब २० करोड नौ लाख ७४ हजार रूपैयाँको नौ प्रतिशतले हुने एक अर्ब २७ करोड ८० लाख ८७ हजार छ सय ६१ रूपैयाँ नगद लाभांश दिने प्रस्ताव गरिएको छ । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूलाई प्रस्तावित लाभांश वितरण गरिने कुरा बैंकले जानकारी दिएको छ ।
बैंकले देशैभरि फैलिएका आफ्ना एक सय ८० वटा शाखा, एक सय ३२ वटा एटीएम र ९६ वटा शाखारहित बैंकिङ इकाइहरूबाट करिब १४ लाख ७० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।