काठमाडौं । विश्वमा आर्थिक मन्दीको डरका बीच कच्चा तेल सस्तो भएको छ । अमेरिकी फेडेरल रिजर्भ र बैंक अफ इंग्ल्यानड तथा स्विस बैंकले प्रमुख ब्याजदरमा वृद्धि गरेका छन् । यसले मन्दीलाई लिएर चिन्ता बढाएको छ । गत हप्ताको अन्तिम कारोबार दिन शुक्रबार ब्रेन्ट क्रुड ४.२१ प्रतिशत अर्थात् ३.८१ डलरले घटेर ८६.६५ डलर प्रतिब्यारेलमा बन्द भएको थियो ।
त्यस्तै डब्ल्यूटीआई ८० डलरभन्दा कम कायम भएको छ । उक्त तेल ४.८६ प्रतिशत अर्थात् ४.०६ डलरको भारी गिरावटसँगै ७९.४३ डलर प्रतिब्यारेल कायम भएको थियो । कच्चा तेलको मूल्यमा गिरावटका बाबजुद भारतमा लामो समययता पेट्रोल र डिजेलको मूल्य बदलिएको छैन ।
बीपीसीएलसँग पेट्रोबासको सम्झौता भारतीय पेट्रोलियम कर्पोरेसन लिमिटेडले कच्चा तेल आयातको लागि ब्राजिलको तेल कम्पनी पेट्रोबाससँग एक सम्झौता गरेको भारतीय मिडियाले जनाएका छन् ।
बीपीसीएल धेरै कच्चा तेल आयात गर्ने भारतीय कम्पनी हो । कम्पनीले महाराष्ट्रका मुम्बई, मध्यप्रदेशको बीना र केरलाको कोच्चीमा रहेको तीन तेल प्रशोधन केन्द्रमा प्रशोधन गरी डिजेल र पेट्रोल उत्पादन गर्छ । कम्पनी कच्चा तेलको बढी मात्रामा इराक र साउदी अरबजस्ता देशबाट आयात गर्छ । अहिले भने कम्पनीले ब्राजिलबाट तेल आयात गर्न उक्त सम्झौता गरेको बताइएको छ ।
भारतमा आइतबार पेट्रोलको मूल्य ९६.७२ भारु र डिजेल ८९.६२ रुपैयाँ प्रतिलिटर भारुमा बिक्री भएको छ । मुम्बईमा भने पेट्रोल १०६.३१ भारु प्रतिलिटर र डिजेल ९४.२७ भारु प्रतिलिटरमा कारोबार भइरहेको छ । भारतमा प्रदेशअनुसार मूल्य फरक हुने गर्छ ।