काठमाडौं । एभरेष्ट बैंक लिमिटेडका ग्राहकले एभरेष्ट बैंकको मोबाइल एप्स्मार्फत फोनपको क्यूआरबाट भुक्तानी गर्दा दश प्रतिशतसम्म अथवा बढीमा सय रुपैयाँसम्म छुट पाउने भएका छन् ।
नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे र एभरेष्ट बैंकका बिचमा ग्राहकलाई यस किसिमको सुविधा प्रदान गर्ने सम्झौता भएको हो । सम्झौता पत्रमा एभरेष्ट बैंकका डिजिटल बैकिङ्ग प्रमुख शंकर पोखरेल र फोनपेका तर्फबाट बिजनेस डेभलपमेन्ट अफिसर लक्ष्मण महर्जनका बीचमा हस्ताक्षर भयो । यो योजना असोज ७ गतेदेखि १४ गतेसम्म र कात्तिक २ गतेदेखि ६ गतेसम्म सञ्चालन हुनेछ । नेपालीहरुको महान चाड दशैँमा किनमेल गर्न केही सुलभ होस् भन्ने उद्देश्यले यो योजना ल्याइएको हो । फोनपेले आफ्ना मर्चेन्ट तथा प्रयोगकर्तालाई लक्षित् गर्दै विभिन्न योजना सञ्चालन गर्दै आइरहेको छ ।
यसैबीच फोनपेले नेपालीहरुको महान चाड दशैँलाई लक्षित् गर्दै ‘चाडवाडमा जीवन सहज बनाऔँ,नगद छाडौँ, फोनपे गरौँ’ योजना सुरु गरेको छ । योजनाअन्तर्गत हरेक दिन फोनपे क्यूआर गर्ने,फोनपे डाइरेक्ट गर्ने र अनलाइन भुक्तानी गर्नेमध्ये एक जना ग्राहकले दैनिक नगद रु एक लाख जित्न सकिनेछ । यसैगरी क्यूआरमार्फत भुक्तानी लिने मर्चेन्टले दैनिक सामसुङ्गको फोन जित्न सकिनेछ ।
ग्राहकहरुका लागि यो योजना असोज ४ गते देखि असोज १३ गतेसम्म लागू हुनेछ भने मर्चेन्टहरुले कात्तिक १२ गतेसम्म हरेक दिन मोबाईल जित्न सकिनेछ । फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्था तथा विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स्बाट सहजै क्यूआरमार्फत भुक्तानी गर्न सकिन्छ ।