काठमाडौं । कुमारी क्यापिटल लिमिटेड र आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनी लिमिटेडबीच सम्झौता भएको छ । क्यापिटलका अनुसार वे टु लिस्टिङ सेवाअन्तर्गत नेपालको प्रचलित कानुनबमोजिम स्थापना भएका जुनसुकै संगठित संस्थाहरूलाई कम्पनीको स्थापनादेखि धितोपत्र विनिमय बजारमा सूचीकरण गर्ने चरणसम्म पु-याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको जानकारी कम्पनीले दिएको छ ।
सोही सेवाअन्तर्गत आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनी लिमिटेडलाई आईपीओ जारी गर्ने चरणसम्म पु-याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउने, धितोपत्रको सार्वजनिक निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा कार्य गर्ने तथा सेयर रजिष्ट्रार सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौतामा कुमारी क्यापिटलका तर्फबाट कम्पनीका नायब महाप्रबन्धक पुष्प शर्मा तथा आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनीका तर्फबाट कम्पनीका अध्यक्ष कृष्ण प्रसाद बजगाईँले हस्ताक्षर गरेका छन् ।
इजराइलबाट कृषिसम्बन्धी सीप तथा तालिम प्राप्त गरी स्वदेश फर्किएका युवाहरूको अगुवाइमा स्थापित यस आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनी लिमिटेड एकीकृत कृषिमार्फत विभिन्न कृषिजन्य वस्तुहरूको उत्पादन, कृषि शिक्षा, तथा कृषि पर्यटन विकासलगायतका कार्यहरू गर्ने मुख्य उद्देश्यका साथ सञ्चालन भइरहेको छ ।
साथै कम्पनीले आफ्नो सहायक कम्पनी एएनएमसी एग्रो प्रालिमार्फत कृषकहरूलाई आवश्यक पर्ने हरित गृह निर्माण, थोपा सिँचाइ प्रविधिको विस्तार, आधुनिक कृषि परामर्श तथा कृषि औजारहरूको बिक्री–वितरण समेत गर्दै आइरहेको छ । आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनी लिमिटेड तथा गण्डकी प्रदेश सरकार, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, नेपाल आर्मी व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्र, र कर्णाली प्रदेशका स्थानीय निकायसँगको साझेदारीमा व्यावसायिक ‘इन्कुवेसन सेन्टर’मार्फत लर्न एन्ड डु तालिम सञ्चालन गर्दै आइरहेको जानकारी कम्पनीले दिएको छ ।
यसका अतिरिक्त कम्पनिले नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको कृषि उद्यम केन्द्रको सहकार्यमा सञ्चालन हुने व्यावसायिक कृषि उद्यम विकास कार्यक्रमको कार्यान्वयन साझेदारको रूपमा समेत कार्य गर्दै आइरहेको जनाएको छ । नेपालको कृषि क्षेत्रमा उल्लेखनीय योगदान पु-याएबापत आराभा नेपाल श्रम तथा रोजगार मन्त्रालयबाट सर्वोत्कृष्ट उद्यमी पुरष्कार तथा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत भइसकेको छ । कम्पनीका अनुसार वे टु लिस्टिङ सेवासम्बन्धी थप जानकारीको लागि मर्चेन्ट बैंकिङ विभाग प्रमुख सबिन बुढाथोकीलाई मोबाइल नं. ९८५११९०११० वा इमेलमा सोझै सम्पर्क गर्न सकिनेछ ।