काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि आज अर्थात् बुधबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गरेको छ ।
आयोगले एक विज्ञप्ति जारी गर्दै बुधबारदेखि लागू भएको जनाएको हो । साथै आचारसंहिताको कार्यान्वयन र पालना गर्न सबैको सहयोगको अपेक्षा गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्तिमा उल्लेख गरेका छन् । आयोगले गत भदौ १३ गते निर्वाचन आचारसंहिता नेपाल राजपत्रमा प्रकाशन गरेको थियो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयमुक्त र पारदर्शी वातावरणमा सम्पन्न गर्नका लागि आयोगले आचारसंहिता जारी गर्ने गरेको छ । आचारसंहितामा दलहरु, उम्मेदवार, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका पदाधिकारी, कर्मचारी, सञ्चारमाध्यम र विभिन्न निकायहरुले पालना गर्नुपर्ने दायित्व निर्धारण गरिएको छ । निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची पेस गर्ने कार्यक्रम सम्पन्न भइसकेको छ ।
आयोगले निर्वाचन आचारसंहिता, २०७९ को सम्पूर्ण व्यवस्था कार्यान्वयन गराउन लागि विभिन्न व्यक्ति, निकाय र अधिकारीलाई निर्देशन समेत दिएको छ । आयोगले नेपाल सरकार र सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र ती निकायका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, संघ, प्रदेश र स्थानीय तहका कर्मचारीलाई आचारसंहिता कार्यान्वयन गर्न/गराउन निर्देशन दिएको हो ।
सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ संगठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, राजनीतिक दल तथा उम्मेदवारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, सार्वजनिक पदधारण गरेको व्यक्तिले पनि आयोगद्वारा जारी आचारसंहिता कार्यान्वयन गर्नुपर्नेछ ।
यस्तै अनुगमन समितिको पदाधिकारी तथा अनुगमनकर्ता, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, कर्मचारी र सञ्चारकर्मी, निजी तथा गैरसरकारी संस्था, सोको पदाधिकारी तथा कर्मचारी, विद्यालय, महाविद्यालय वा विश्वविद्यालयकाका शिक्षक तथा कर्मचारी, मतदाता र विकास साझेदार संस्थाले पनि आचारसंहिता पालना गर्नुपर्नेछ ।
सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारी, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्रका पदाधिकारी, कर्मचारी तथा कामदार, वस्तु वा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार र आयोगले तोकेका अन्य निकाय वा व्यक्तिले आचारसंहिताको पालना गर्नुपर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।