पोखरा । गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढाले सहकारीहरूले आफ्ना सेयर सदस्यहरूलाई आयआर्जनका कार्यक्रमहरूमा आकर्षित गर्नुपर्नेमा जोड दिएका छन् ।
पोखरामा रहेको मुनाल बचत तथा ऋण सहकारी संस्था लि.को १४औँ वार्षिक साधारणसभाको मंगलबार उद्घाटन गर्दै उनले अहिलेको बजारको अवस्थालाई मध्यनजर गर्दै सेयर सदस्यहरूलाई आयआर्जनका कार्यक्रमहरूमा आकर्षित गर्न सहकारीहरुलाई सुझाव दिए । यस्तै उनले संघीय तथा प्रदेश सरकारले ल्याएको सहकारीसम्बन्धी नीति, विनियम र नियमावलीअनुसार सहकारी चल्नुपर्ने बताए । सरकारले पनि सहकारी सञ्चालनमा सहज बनाउनुपर्ने उनको भनाइ थियो ।
सहकारीका अध्यक्ष मगनलाल श्रेष्ठको अध्यक्षतामा भएको सभामा उपाध्यक्ष डा. विष्णुप्रसाद चापागाईँले स्वागत मन्तव्य तथा कार्यसमिति सदस्य डिलकुमारी पौडेलले सहकारीका सात सिद्धान्त वाचन गरेको बताइएको छ । सभामा कोषाध्यक्ष रमेशकुमार पौडेलले संस्थाको हालको सेयर पुँजी पाँच करोड ३९ लाख ७६ हजार सात सय रूपैयाँ, निक्षेप १५ करोड ८९ लाख आठ हजार सात सय ३८ रहेको र सेयर सदस्यमा लगानी १८ करोड ८९ लाख ५३ हजार आठ सय ४४ रूपैयाँ रहेको जानकारी गराएका थिए भने लेखा समितिका संयोजक रोशनजंग कार्कीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरे ।
साधारणसभामा सहकारीका निवर्तमान अध्यक्ष दुर्गाप्रसाद हुमागार्ईँलार्ई वर्षभरि उत्कृष्ट वित्तीय कारोबार गरेबापत संस्थाको तर्फबाट सम्मान गरिएको थियो । त्यस्तै सेयर सदस्य कमल पाइजालाई उत्कृष्ट कर्जा उपभोगकर्ताको रूपमा सम्मान गरिएको थियो । सोही अवसरमा उत्कृष्ट कर्मचारीबाट संस्थाका कर्मचारी रितेश जीसीलाई पनि सम्मान गरिएको संस्थाका अध्यक्ष मगनलाल श्रेष्ठले बताए ।