काठमाडौं । दशैंको लामो विदापछि सेयर बजार सूचकांक (नेप्से) गुल्जार देखिएको छ । दशैँ विदापछि पहिलो दिन आइतबार खुलेको बजार परिसूचक ४४ दशमलव ६२ अंकले उकालो लागेर १८ सय ९८ दशमलव ३८ विन्दुमा चढेको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ७८ अंकले उकालो लागेर तीन सय ७२ दशमलव २१ विन्दुमा चढेको छ । यस दिन १३ वटा उपसमूहहरुअन्तर्गत दुई सय २४ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट १४ हजार नौ सय ९१ पटकको कारोबारमा २५ लाख ३३ हजार तीन सय ९३ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा यस दिन कुल कारोबार रकम ८३ करोड ६८ लाख ७३ हजार एक सय ४० रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यस दिन कारोबार भएको कुल उपसमूहहरुमध्ये सबै उपसमूहहरुको सूचक उकालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक उपसमूहको सूचक २५ दशमलव ५७ अंकले उकालो लागेर १३ सय २७ दशमलव ९३ विन्दुमा चढेकोमा विकास बैंक उपसमूहको सूचक पनि एक सय ४९ दशमलव दुई अंकले उकालो लागेर तीन हजार चार सय ५८ दशमलव ७९ विन्दुमा चढेको छ । जलविद्युत् उपसमूहको सूचक पनि ५६ दशमलव ५१ अंकले उकालो लागेर दुई हजार २४ दशमलव १८ विन्दुमा चढेकोमा फाइनान्स उपसमूहको सूचक पनि ७० दशमलव ६८ अंकले उकालो लागेर १५ सय ७९ दशमलव २२ विन्दुमा चढेको छ ।
यसैगरी निर्जीवन बीमा उपसमूहको सूचक पनि एक सय ३५ दशमलव ४९ अंकले उकालो लागेर सात हजार छ सय ४४ दशमलव दुई विन्दुमा चढेकोमा जीवन बीमा उपसमूहको सूचक पनि एक सय ८७ दशमलव आठ अंकले उकालो लागेर आठ हजार नौ सय एक दशमलव ३३ विन्दुमा चढेको छ । यीबाहेक टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी उपसमूहहरुको सूचक पनि क्रमशः १७ दशमलव १६, ४९ दशमलव ६१, एक सय २१ दशमलव पाँच, ३२ दशमलव १८, एक सय १२ दशमलव ३७, शून्य दशमलव नौ र एक दशमलव ३८ विन्दुले उकालो लागेका छन् ।
यस दिन कमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य नौ दशमलव ९५ प्रतिशतले बढेर दुई सय ३० रुपैयाँ ९० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि नौै दशमलव ८४ प्रतिशतले बढेर ३४ सय ६० रुपैंयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । यीबाहेक गुह्श्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी, मितेरी डेभपमेन्ट बैंक आदिको सेयर मूल्य पनि उकालो लागेका छन् ।
गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको ग्लोबल आईएमई ब्यालेन्स फण्डको प्रतियुनिट सेयर मूल्य चार दशमलव ४८ प्रतिशतले घटेर आठ रुपैंयाँ ३१ पैसामा प्रतियुनिट सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको मूल्य तीन दशमलव ९६ प्रतिशतले घटेर दुई सय ७९ रुपैंयाँमा प्रतिकित्ता सेयर किनबेच भएको छ । यीबाहेक ओरन्टल होटल लिमिटेड, वीन लघुवित्त वित्तीय संस्था आदिको सेयर मूल्य पनि ओरालो लागेका छन् ।
यस दिन हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता दुई सय ७९ रुपैंयाँ अन्तिम मूल्यमा २२ करोड ६९ लाख ८१ हजार सात सय ४४ रुपैंयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नबिल बैंकको पनि प्रतिकित्ता आठ सय सात रुपैयाँ अन्तिम मूल्यमा तीन करोड ५१ लाख ९८ हजार चार सय २९ रुपैयाँ ९० पैसाको सेयर किनबेच भएको छ । यीबाहेक हिमालयन डिष्टिलरी प्रालि, अपी पावर लिमिटेड आदिको पनि बढी रकम कारोबार भएका छन् ।