काठमाडौं । सानिमा बैंक लिमिटेडले ठिमी र कपनमा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ । उक्त शाखाहरूको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका सञ्चालक भरत कुमार पोख्रेलले संयुक्तरूपमा गरेका हुन् । समुद्घाटन समारोहमा मह जोडीले ठिमी र कपनमा सानिमा बैंकको शाखा सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रूपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे । त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरूलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै गुणस्तरीय सेवा प्रदान गर्न बैंक प्रतिबद्ध रहेको बताए । सानिमाको हाल देशका सातै प्रदेशमा एक सय २९ वटा शाखा कार्यालयहरू र एक सय २० वटा एटीएम काउन्टरहरू सञ्चालनमा रहेका छन् ।