मस्को । रूसले फेसबुक र इन्स्टाग्रामको मातृकम्पनी मेटालाई आतंकवादी संगठन भएको घोषणा गरेको छ । आफ्नो दर्ता फाइलमा बहुराष्ट्रिय कम्पनीलाई आतंकवाद र अतिवादमा संलग्न संगठनको दर्जा दिइएको हो । रोसफिनमनिटरिङले रुसमा फेसबुक र इन्स्टाग्राम दुवै प्रतिबन्धित भएको पनि जनाएको छ । योसँगै बैंकहरुले यससम्बन्धी रकम फ्रिज गर्नुपर्नेछ भने आफ्ना अकाउन्टहरु निलम्बन गर्नुपर्ने भएको छ । मार्च २१ मा मस्कोमा रहेको भस्र्कोय जिल्ला अदालतले मेटालाई अतिवादी संगठन भएको बताएको थियो । मेटाको व्यवस्थापनले युक्रेनबाट भएको रुसी सेनाविरुद्धको हिंसाको आह्वानलाई अनुमति दिएको दाबी गरिएको थियो । अदालतको निर्णयविरुद्ध अपिल गर्न समेत दिइएको थिएन । तर मेटाकै ह्वाट्सएपविरुद्ध भने अदालतको निर्णय लागू भएको थिएन ।