काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषका पूर्वप्रमुख कार्यकारी अधिकृत विष्णुबाबु मिश्रले नामै नसुनिएको एक राजनीतिक दलले समानुपातिक उम्मेदवारको बन्दसूचीमा आफ्नो नाम राखेकोमा आपत्ति जनाएका छन् ।
नेपाल संघीय समाजवादी पार्टीले निर्वाचन आयोगमा पेस गरेको समानुपातिक उम्मेदवारहरूको बन्दसूचीमा विष्णुबाबु मिश्रको नाम ७ नम्बरमा रहेको छ । उनले आफ्नो नाम मात्र नभई ठेगाना र नागरिकता नम्बर समेत मिलेकोमा आश्चर्य मानेका छन् । आर्थिक दैनिकका प्रतिनिधिसँगको कुराकानीमा उनले आफ्नो नाम समावेश गरिएकोमा आपत्ति जनाउँदै आफू उक्त दलमा आबद्ध नरहेको प्रस्ट पारेका छन् । सो पाटीको अध्यक्ष मुहमद रिजवान र महासचिव रमेश कुमार रहेका छन् ।
उक्त पार्टीले निर्वाचन आयोगमा पेस गरेको समानुपातिक उम्मेद्वारहरूको बन्दसूची सार्वजनिक भएपछि आफ्नो नाम समेत रहेको थाहा पाएको जनाएका छन् । उनले भने, ‘नेपालको प्रजातान्त्रिक संघर्षमा महत्वपूर्ण भूमिका निर्वाह गरेको पारिवारिक पृष्ठभूमिको व्यक्ति भएकाले पनि नामै नसुनेको त्यस्तो पार्टीमा संलग्न हुने कुरै आउँदैन ।’