काठमाण्डौँ,फागुन १९ एनएमबी बैंक लिमिटेडले रोल्पा लगानी सम्मेलन २०७६ का क्रममा धाङ्सीखोला जलविद्युत् आयोजनाका लागि लगानीलगायत सबै किसिमका बैंकिङ सेवा उपलब्ध गराउने गरी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सम्झौतामा बैंककातर्फबाट प्रमुख व्यवसाय तथा रणनीति अधिकृत सुदेश उपाध्याय र रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुन, एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यान, बैंक सञ्चालक समितिका सदस्य राजेन्द्र काफ्ले तथा रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वकुमार चन्दलगायतको उपस्थितिमा हस्ताक्षर गरेका हुुन् । सो सम्झौता देशको दिगो विकासर्तफ बैंकले लिएको दिर्घकालीन रणनीतिअन्तर्गत पर्दछ, जहाँ जलविद्युत्ले ऊर्जा आत्मनिर्भरताका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ, बैंकले विज्ञप्तिमार्फत भनेको छ । आयोजनाले स्थानीय समुदायको ऊर्जा आवश्यकता सम्बोधन गर्न तथा यस क्षेत्रमा अझ बढी आर्थिक गतिविधि बढाउन सक्षम तुल्याउनेछ । मुलुकलाई ऊर्जा उत्पादनको क्षेत्रमा आत्मनिर्भरता हासिल गराउँनका लागि विभिन्न जलविद्युत् तथा नवीकरणीय ऊर्जाका आयोजनाहरूमा लगानी गर्दै आएकोे एनएमबी अग्रणी भएको दाबीसमेत बैंकले गरेको छ ।