काठमाडौं । खुर्सानीटारमा प्रधान कार्यालय रहेको पिपुल्स पावर लिमिटेडको सेयर सूचीकृत भएको छ । नेप्से सिम्बोल पीपीएल रहेको कम्पनीको प्रतिसेयर एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ६३ लाख २६ हजार कित्ता सेयर सूचीकृत भएको हो । बिहीबार पिपुल्स पावर लिमिटेड तथा नेपाल स्टक एक्सचेन्जबीच सूचीकरण सम्झौता सम्पन्न भएको छ ।
पिपुल्स पावर लिमिटेडकोे प्राथमिक सेयर निष्काशन कार्य प्रभु क्यापिटल लिमिटेडमार्फत सेयर बिक्री खुला भएको थियो । उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूमा वितरण गरिएको छ लाख ३२ हजार छ सय कित्ता (१० प्रतिशत), सर्वसाधारण लगानीकर्ता सेयरधनीहमा वितरण गरिएको (सामूहिक लगानी कोष र कर्मचारीहरू समेत) २४ लाख ६७ हजार चार सय कित्ता (३९ प्रतिशत) र कम्पनीका संस्थापकहरूले लगानी गरेको ३२ लाख २६ हजार कित्ता (५१ प्रतिशत) सेयर समेत गरी कुल ६३ लाख २६ हजार कित्ता साधारण सेयर वितरण भई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीले रजिष्ट्रारसम्बन्धी कार्य गर्नको निमित्त सेयर रजिष्ट्रारको रूपमा प्रभु क्यापिटल लिमिटेडलाई चयन गरेको छ । सेयर रजिष्ट्रारको रूपमा प्रभु क्यापिटलले पिपुल्स पावर लिमिटेडको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी, लाभांश तथा बोनस हितग्राहीको खातामा जम्मा गर्ने, सेयर रोक्कालगायत सेयरधनीहरूको लगत अद्यावधिक गरी राख्ने कार्यहरू गर्नेछ ।