काठमाडौं । बीमा समितिले निर्वाचन आचारसंहिता मिचेर लघुबीमाको लाइसेन्स दिने भएको छ । सातवटा लघुबीमाको लाइसेन्स वितरणको लागि गत भदौ १० गते जारी सूचनाअनुसार गत असोज १३ गतेसम्म परेका ३१ वटा कम्पनीमध्ये सातवटा कम्पनी छनौट गर्न बीमा समितिका कार्यकारी निर्देशकको संयोजकत्वमा कानुन विभागका निर्देशक दिनेशलाल कर्णसहितको टोली बनाएर यही असोज २३ गतेदेखि नै काम जारी छ । शनिबार समेत मूल्याङ्कन समितिको बैठक बसेर मूल्याङ्कनको काम भइरहेको स्रोतले जानकारी दियो ।
स्रोतका अनुसार बीमा समितिले यही कात्तिक ४ गते सूचना प्रकाशित गरी सात जना प्रस्ताव ल्याउने कम्पनीलाई लघुबीमाको लाइसेन्स लिन बोलाउने तयारी पूरा गरिसकेको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले नयाँ कम्पनीलाई लाइसेन्स वितरण गर्न कम्पनीको छनौटको काम भइरहेको स्वीकार गरे ।
‘कम्पनीहरुको मूल्यांकन गर्ने काम भइरहेको छ, यही कात्तिक ४ गतेभित्र लघुबीमाको लाइसेन्स वितरण गरिसक्छौँ’, पौडेलले भने । आगामी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनका कारण निर्वाचन आचारसंहिता लागू भएको अवस्थामा लघुबीमाको लाइसेन्स दिनलागेको बारेमा जिज्ञासा राख्दा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले भने यस विषयमा थाहा नभएको बताए ।
लघुबीमाको लाइसेन्स वितरण गर्ने कार्य निर्वाचन ऐन २०७९ विपरीत रहेको छ । निर्वाचन ऐन २०७३ को परिच्छेद ४ दफा २२ मा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहअन्तर्गतका सरकारी तथा गैरसरकारी निकायहरुलाई निर्वाचन आचारसंहिता लागू हुने उल्लेख छ । बीमा समिति बीमा ऐन २०४९ बमोजिम संगठित संस्था हो । जुन अर्थ मन्त्रालय मातहत छ ।
बीमा समितिले निर्वाचन आचारसंहिताविपरीत कार्य भएको सम्बन्धमा निर्वाचन आयोगमा उजुरी परेको भए पनि कुनै छानबिन नभएको गैरकानुनी कार्यले प्रश्रय पाइरहेको बीमित हित संरक्षण मञ्चका महासचिव बलराम श्रेष्ठले बताए ।