काठमाडौं । आफैँले मिति तोकेर आफ्नै नेतृत्वमा सम्पन्न हुनलागेको निर्वाचनमा आफैँले स्वीकार गरेको आचारसंहिता शीर्ष नेतृत्वबाटै उल्लंघन भयो भने त्यो अज्ञानता नभएर हेपाइ हो । यस्तो पहिले पनि हुनेगरेको थियो । चार महिनाअघि सम्पन्न भएको स्थानीय निर्वाचनमा पनि आचारसंहिता उल्लंघन गर्नेमा सबैभन्दा अघि शीर्ष नेतृत्व नै थियो । त्यसबेला स्थानीय तहको निर्वाचनमा प्रचारका लागि हेलिकोप्टर प्रयोग गर्न नपाइने भनिएको थियो तर भयो के भने नेताहरूले यातायातका लागि सबैभन्दा बढी प्रयोग गरेको साधन नै हेलिकोप्टर थियो । त्यसका बारे आयोगले प्रस्टीकरण पनि नसोधेको होइन तर त्यो त्यसै ट¥यो । एक जना नेताले एक मेयरले दश करोडसम्म खर्च गरेको भनी जानकारी गराएका थिए । त्यसमा पनि आयोगले त्यस्तो मेयरको परिचय गराइदिन माग गर्दा त्यो पनि गुपचुपमै रह्यो । मेयरका लागि खर्चको सीमा तीन लाखको हाराहारीमा थियो । यो आचारसंहिता भनेको त्यसको पालनाका लागि एकप्रकारको बाध्यात्मक नै हो । तर त्यसको उल्लंघन हुँदा कारबाहीको पक्ष कमजोर रहेको कारण यसको निरन्तर उल्लंघन भइरहने गरेको छ । पछिल्लो चुनावमा त पहिलो दिनदेखि नै त्यसको उल्लंघन हुनथालेको छ ।
मंसिर ४ मा सम्पन्न हुने निर्वाचनका सन्दर्भमा उम्मेदवारी दर्ता गर्दा एक जना शीर्षनेताले आचारसंहिताले प्रतिबन्ध लगाएको काम गरे । संहिता उल्लंघन गर्नेमा सत्तारुढ गठबन्धनका नेता नेकपा (माओवादी केन्द्र)का अध्यक्ष थिए । गोरखा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका उनले त्यस्तो दर्ता गर्न जाने क्रममा बाजागाजाको प्रयोग गरेका थिए । संहितामा स्पष्टसँग उम्मेदवारी दर्ता गर्दा १५ जनाभन्दा बढी हुन नहुने र बाजागाजाको प्रयोग गर्न नपाइने भनी किटानी नै गरेको छ । तर त्यसकै उल्लंघन भयो । यसबारे आयोगले लेखेको पत्रमा भनियो, ‘मनोनयन दर्ता गर्ने क्रममा बाजागाजा (पञ्चेबाजा) सहित साथमा लिई मनोनयन गरेको श्रव्यदृश्य सामग्री सार्वजनिक भएको सम्बन्धमा आयोगको ध्यानाकर्षण भएको छ, आयोगलाई प्राप्त श्रव्यदृश्य सामग्रीमा यहाँलाई पञ्चेबाजासहित स्वागत तथा अभिनन्दन गरेको देखिन्छ, ...प्रस्तुत सन्दर्भमा यहाँको मनोनयन दर्ता क्रममा बाजागाजा (पञ्चेबाजा)को प्रयोग भएको हो होइन ? यहाँको मनोनयन दर्ता गर्ने क्रममा बाजागाजाको प्रयोग भएको हो भने यहाँलाई निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को उपदफा (१)को खण्ड (ण)को व्यवस्थाको उल्लंघनमा किन कारबाही गर्नु नपर्ने हो ?’
उल्लिखित प्रश्नको जवाफ भने यो बेलासम्म आएको छैन । विगतका निर्वाचनहरूमा आचारसंहिता उल्लंघन हुँदा सोधिएका यस्ता प्रश्नहरू जसरी नाजवाफ नै रहे यो पटक पनि त्यस्तै हुने खतरा छ । उम्मेदवारी दर्ता भनेको निर्वाचनको प्रारम्भिक चरण हो । यो तहको उम्मेदवारले आफैँले वा आफ्नो उपस्थितिमा र आफ्ना लागि रचिएको विशेष तामझाम अरुबाट पनि अनुकरण भयो भने आचारसंहिताको अर्थ रहँदैन । पहिलो पक्ष हो यसको पालना ठूलाबडाबाटै गराउनुपर्छ । त्यसो भएन भने यो निर्वाचनको समयभरि यो एउटा नजिर बनेर रहनेछ, जो आयोगका लागि पनि एउटा चुनौती हो । चुनावको निष्पक्षताका लागि आयोगले थुप्रै यस्ता प्रतिबन्धात्मक व्यवस्था गरेको हुन्छ । ती तोडिन थाले भने त्यसको सन्देश नकारात्मक हुन्छ । बेलैमा ध्यान पुगोस् ।