काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज ३१ गते अर्थात् आज सोमबार पुनः १८ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही असोज २४ गते पनि राष्ट्र बैंकले १८ अर्ब २५ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
राष्ट्र बैंकका अनुसार जारी मिति कात्तिक १ गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने उक्त ट्रेजरीहरु क्रमशः २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको पाँच अर्ब २० करोड, एक सय ८२ दिने अवधिको पाँच अर्ब र तीन सय ६४ दिने अवधिको छ अर्ब रुपैयाँबराबरको रहेको छ । जसमध्ये २८ दिनेको २०७९ कात्तिक २९ गते, ९१ दिनेको २०७९ माघ ३ गते, एक सय ८२ दिने अवधिको २०८० वैशाख ५ गते र तीन सय ६४ दिने अवधिको २०८० असोज ३० गते परिपक्व हुने अवधि तोकिएको छ । राष्ट्र बैंकका अनुसार आज बिक्री हुुने यी ट्रेजरी बिलहरु सबै पुरानो नवीकरणअन्तर्गतका रहेका छन् ।
यसअघि अर्थात् गत साता पनि राष्ट्र बैंकले २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको आठ अर्ब, एक सय ८२ दिने अवधिको दुई अर्ब २५ करोड र तीन सय ६४ दिने अवधिको तीन अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।