बुटवल, फागुन २०
जिल्ला प्रहरी कार्यालय रूपन्देहीले दुई लाख ८० हजार रूपैयाँबराबरका अवैध कुखुराहरू नष्ट गरेको जनाएको छ । प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी खड्कबहादुर खत्रीका अनुसार प्रहरीले अवैधरूपमा भारतबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा फेला पारी नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरी टोलीले १८ गते आइतबार रोहिणी गाउँपालिका–५ तेनुवामा भारतबाट अवैधरूपमा नेपालतर्फ साइकल र मोटरसाइकलमा बोइलर कुखुरा लोड गरी ल्याउँदै गरेको अवस्थामा फेला पारेको थियो ।
नियन्त्रणमा लिन खोज्दा कुखुरा ल्याउने मानिसहरू कुखुरा छाडी भागेका थिए । प्रहरीले तत्काल स्थानीय मानिसहरूको रोहबरमा सात सयवटा कुखरा बरामद गरी आवश्यक कारबाहीको लागि पशु क्वारेन्टाइन चेक पोष्ट बेलहिया पठाइएको थियो । उक्त कुखुराहरू रोहिणी खोलामा खाल्डोमा पुरी नष्ट गरिएको प्रहरीले जनाएको छ । प्रतिगोटा दुई किलोका दरले एक हजार चार सय किलो मूल्याङ्कन गरिएको सूचना अधिकारी खड्कबहादुर खत्रीले जानकारी दिए ।