काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ताबापतको ७३ करोड रूपैयाँभन्दा बढी भुक्तानी गरेको छ ।
निगमले जहाज खरिदबापत दुई कोषलाई तिर्नुपर्ने ऋण दायित्वको भुक्तानीअन्तर्गत पछिल्लो पटक असोज ३१ गते ७३ करोड नौ लाख ५५ हजार दुई सय ८१ रूपैयाँ भुक्तानी गरेको निगमका सहप्रवक्ता गणेशकुमार घिमिरेले जानकारी दिएका छन् । घिमिरेले मंगलबार एक विज्ञप्ति जारी गरी कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकोमा कर्मचारी सञ्चय कोषको हकमा न्यारोबडी जहाज खरिदको सावाँ र ब्याजबापतको ५३ करोड नौ लाख ५५ हजार दुई सय ८१ भुक्तानी गरिएको जानकारी दिएको छ । त्यसैगरी, नागरिक लगानी कोषको हकमा पनि बाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ताबापतको २० करोड रूपैयाँ किस्ताबापतको रकम भुक्तानी गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
निगमले यसअघि गत आसार ३० गते दुवै कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ताबापतको एक अर्ब ३५ करोड रूपैयाँ भुक्तानी गरिएको जनाएको छ । पछिल्ला दिनमा नियमित उडान, अकुपेन्सी दरमा सुधार आई आम्दानीमा वृद्धि भएको निगमले नियमितरूपमा ऋण दायित्वको भुक्तानी गर्न सफल भएको सहप्रवक्ता घिमिरेले बताए । उनले अन्तर्राष्ट्रिय उडानका चारवटै जहाज पूर्णक्षमतामा नियमित उडान भइरहेकाले निगमको आम्दानीमा सुधार आएको बताए । निगमले वाइड बडी ए–३३० र न्यारोबडी ए–३२० जहाज खरिदका दुवै चरणमा गरेर करिब ३७ अर्ब रूपैयाँ ऋण लिएको थियो । साँवा र ब्याज बढेर भुक्तानी दायित्व झण्डै ४५ अर्ब पुगेको बताइन्छ ।