काठमाडौं । नेपाल स्टक स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले नयाँ ब्रोकर कम्पनीको लाइसेन्सको लागि अनुमति माग गरेका ४५ वटा कम्पनीहरूलाई ब्रोकर कम्पनीको रूपमा कारोबार गर्ने अनुमतिको लागि नाम सिफारिस गरेको छ । नेप्सेका अनुसार सोमबार साँझसम्म नयाँ ब्रोकर कम्पनीको लागि ४५ वटा कम्पनीहरूको नाउँ सिफारिस गरेर अनुमतिको लागि नेपाल धितोपत्र बोर्डमा पेस गरिएको हो । नेप्सेले ४५ वटाको नाम सिफारिस गरेर पठाएको भए पनि सनी सेक्युटिजले भने सेवा थप गर्नको लागि धितोपत्र बोर्डमा पहिला नै आवेदन दिएकाले नयाँ ब्रोकर कम्पनीको लागि आवेदन माग गर्ने कम्पनीहरूको कुल संख्या ४६ वटा पुगेको छ ।
नयाँ ब्रोकर कम्पनीको लागि धितोपत्र बोर्डमा आवेदन दिनको लागि पहिला नेप्सेबाट स्वीकृति लिनुपर्ने र सोपश्चात् बोर्डले तोकिएका मापदण्ड पूरा गरेका कम्पनीहरूलाई ब्रोकर कारोबारको लागि अनुमति दिनसक्ने व्यवस्था रहेको छ । तर यसअघि बोर्डले उपयुक्त ठहरिएका कम्पनीहरूलाई ब्रोकर कारोबारको लागि आवश्यक पूर्वाधार निर्माण गर्नको लागि सूचना जारी गर्नेछ । सोपश्चात् कम्पनीले पूर्वाधार तयार गरी त्यसको जानकारी बोर्डलाई दिनेछ भने बोर्डले ३० दिनभित्र आवश्यक पूर्वाधारको जाँचबुझ गरी कारोबार सञ्चालन गर्न अनुमति दिनेछ । तर पूर्वाधार अपुग देखिएमा भने अपुग पूर्वाधारको लागि भने निर्माणको लागि थप तीन महिनाको समय दिने बोर्डले जानकारी दिएको छ ।
नेपाल बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्रका लागि असोज २ गते सूचना जारी गरेर सोही मितिले ३० दिनभित्र आवेदन दिन आह्वान गरेको थियो । सोअनुसार ४५ वटा कम्पनीहरूले नयाँ ब्रोकर कम्पनीको लागि आवेदन दिएपछि नेप्सेले ती कम्पनीहरूको नाम सिफारिस गरेर धितोपत्र बोर्डमा पठाएको हो ।
नेप्सेले सिफारिस गरेर अनुमतिको लागि धितोपत्र बोर्डका पठाएका कम्पनीहरूमा क्यापिटल म्याक्स सेक्युरिटिज, प्रोपर्टी बिगाड, कलश सेक्युरिटिज, माछापुच्छ«े सेक्युरिटिज, भोलेनलेज सेक्युरिटिज, सेयर ब्रो सेक्युरिटिज, प्रभु स्टक, एनएमबी सेक्युरिटिज, हिमालन ब्रोकरेज, केबिएल सेक्युरिटिज कम्पनीलगायतका ४५ वटा कम्पनीहरू रहेका छन् ।
धितोपत्र व्यवसायी नियमावलीको २०६४ को पाँचौँ संशोधनले नेप्सेको सिफारिसपछि बोर्डले नयाँ ब्रोकर कम्पनीहरूलाई कारोबार सञ्चालनको लागि अनुमति दिन सक्ने व्यवस्था गरेको छ । सोही व्यवस्थामा टेकेर नै अनुमतिको लागि नाम सिफारिस गरिएको नेप्सेले जानकारी दिएको छ ।