काठमाडौं । गणपती लघुवित्त वित्तीय संस्थाको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा विष्णुप्रसाद ढकाल नियुक्त भएका छन् । संस्थाको यही असोज ३१ गते बसेको सञ्चालक समितिको ९८औँ बैठकले यही कात्तिक एक गतेदेखि नै लागूू हुनेगरी ढकाललाई कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
यसअघि संस्थाको प्रमुख कार्यकारी अधिकृतको पदमा किरण विष्ट रहेको थिए । विष्टले दिएको राजीनामा स्वीकृत गर्दै संस्थाको सञ्चालक समितिको बैठकले दोस्रो निर्णय नभएसम्मको लागि ढकाललाई कामु प्रमुख कार्यकारीको जिम्मेवारी दिएको जानकारी दिएको छ । संस्थाले आर्थिक वर्ष २०७८–०७९ मा एक करोड ८६ लाख १६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा चार करोड ११ लाख ३८ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १५ करोड १५ लाख ५४ हजार रुपैयाँ रहेको संस्थाले आव २०७८–०७९ मा ५७ करोड ३२ लाख ४२ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब १९ करोड ८२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १२ करोड तीन लाख ५० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम चार करोड ११ लाख चार हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ६४ प्रतिशत रहेको छ । अघिल्लो आवमा भने संस्थाले ४१ करोड ९७ लाख ४२ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ५४ करोड ३७ लाख ३१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १३ करोड २५ लाख सात हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड ३४ लाख ४७ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ३५ प्रतिशत रहेको थियो ।