काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड देशको सातै प्रदेशको ७७ वटै जिल्ला सदरमुकाममा पुगेको छ । सर्लाही जिल्लाको मलंगवा न.पा.वडा न.९ स्थित शाखा कार्यालय मलंगवा विस्तार गरी सोमबार कारोबार शुभारम्भ भएपछि ७७ जिल्लाका सबै सदरमुकाममा बैंकको सेवा पुगेको हो । वाणिज्य बैंकहरूमध्ये सात प्रदेशको ७७ जिल्लामा पुगी राष्ट्रिय वाणिज्य बैंकले यसअघि नै पहिलो बैंकको रूपमा बैंकिङ पहुँच पु-याइरहेको छ ।
नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आव २०७८/७९ को चौथो त्रैमाससम्ममा बैंकले पाँच अर्ब २१ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । २०७९ असार मसान्तमा बैंकको ग्राहक निक्षेप दुई खर्ब ५९ अर्ब र खुद कर्जा तथा सापट दुई खर्ब २९ अर्ब पुगेको छ । आव २०७८/७९ मा बैैंंकको सेयरधनी कोष ३३ अर्ब ४८ करोड र कुल सम्पत्ति तीन खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ ।
बैंकको सफलताको लागि उल्लेखनीय योगदान पु-याउने सम्पूर्ण निक्षेपकर्ता, कर्जा ग्राहक, सेयरधनी, नेपाल सरकार, कार्यरत कर्मचारीलगायत समग्र सरोकारवालाहरूप्रति बैंक हार्दिक धन्यवाद प्रकट गर्दछ साथै भविष्यमा अझै उत्कृष्ट सेवा प्रदान गर्दै उत्कृष्ट नतिजा हासिल गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।
बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा दुई सय ६४ वटा शाखा कार्यालय, दुई सय ६८ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ सेवा रहेको छ ।