काठमाडौं । यससाता सेयर बजार परिसूचक एक हजार आठ सय ४४ दशमलव १४ विन्दुमा कायम रहेको छ । यसैगरी क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ६३ दशमलव पाँच विन्दुमा सीमित भएको छ ।
यससाता धितोपत्र बजारमा दुई सय २१ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार ६७ हजार नौ सय ५५ पटकको कारोबारमा ७९ लाख चार हजार सात सय पाँच कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम दुई अर्ब ४७ करोड छ लाख ४२ हजार ५९ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गतसाताको तुलनामा झण्डै एक अर्ब रुपैयाँले कम हो ।
गतसाता भने धितोपत्र बजारमा दुई सय ३३ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुसार ७६ हजार चार सय ९१ पटकको कारोबारमा एक करोड २२ लाख ४० हजार चार सय ११ कित्ता सेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम तीन अर्ब ८८ करोड २७ लाख ३८ हजार पाँच सय ५३ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष सातामा चार कार्यदिन मात्र खुला रहेको थियो । जसमध्ये पहिलो, दोस्रो, चौथो र पाँचौँ दिन नै नेप्से लगातार ओरालो लागेको थियो भने तेस्रो कार्यदिन सार्वजनिक बिदा परेका कारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो ।
जसमध्ये पहिलो कारोबार दिन बजार परिसूचक नौ दशमलव ६९ अंकले ओरालो लागेर एक हजार आठ सय ६० दशमलव ९४ विन्दुमा झरेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ७२ अंकले ओरालो लागेर तीन सय ६५ दशमलव ४२ विन्दुमा झरेको थियो । दोस्रो कारोबार दिन पनि बजार परिसूचक दुई दशमलव ६१ अंकले ओरालो लागेर एक हजार आठ सय ५८ दशमलव ३३ विन्दुमा झरेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने शून्य दशमलव दुई अंकले उकालो लागेर तीन सय ६५ दशमलव ६२ विन्दुमा चढेको थियो । तेस्रो कारोबार दिन भने सार्वजनिक बिदा परेका कारण नेप्से बन्द रहेको थियो । चौथो कारोबार दिन भने बजार परिसूचक १२ दशमलव ८१ अंकले ओरालो लागेर एक हजार आठ सय ४५ दशमलव ५१ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ६६ विन्दुले ओरालो लागेर तीन सय ६२ दशमलव ९६ विन्दुमा झरेको थियो ।
पाँचौँ कारोबार दिन पनि बजार परिसूचक एक दशमलव ३८ अंकले ओरालो लागेर एक हजार आठ सय ४४ दशमलव १४ विन्दुुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स भने शून्य दशमलव शून्य नौ विन्दुले उकालो लागेर तीन सय ६३ दशमलव पाँच विन्दुमा चढेको थियो । यससाता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा शिवम् सिमेन्ट, नेसनल हाइड्रोपावर कम्पनी, नेपाल टेलिकम आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा शिवम् सिमेन्ट, नेपाल टेलिकम, नेसनल हाइड्रोपावर कम्पनी, आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यससाता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।