काठमाडौं, सरकारी खातामा दुई खर्ब ६६ अर्ब ३८ करोड रुपैयाँ नगद मौज्दात देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयले दिएको जानकारीअनुसार चालू आर्थिक वर्षको भदौ मसान्तसम्ममा नेपाल राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खाताहरूमा उक्त परिमाणमा नगद मौज्दात देखिएको हो । यो रकममा प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकम समेत समावेश रहेको महालेखाको भनाइ छ । २०७९ असार मसान्तमा भने यस्तो मौज्दात दुई खर्ब २७ अर्ब ६९ करोड रुपैयाँ रहेको थियो । चालू आर्थिक वर्षको पहिलो दुई महिनाको अवधिमा संघीय सरकारको कुल खर्च रकम भने एक खर्ब ३४ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । यस अवधिमा चालू खर्चतर्फ एक खर्ब आठ अर्ब ७३ करोड, पुँजीगत खर्चतर्फ पाँच अर्ब ३७ अर्ब ८६ करोड र वित्तीय व्यवस्थाअन्तर्गतको खर्चतर्फ १९ अर्ब ७५ करोड रुपैयाँ रहेको महालेखाको भनाइ छ । समीक्षा अवधिमा संघीय सरकारको कुल राजस्व भने एक खर्ब ४३ अर्ब ८१ करोड रुपैयाँ परिचालन भएको छ । यसमा प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकम समेत समावेश रहेको छ । यसमध्ये कर राजस्वतर्फ एक खर्ब ३० अर्ब ७० करोड र गैरकर राजस्वतर्फ १३ अर्ब १९ करोड परिचालन भएको महालेखाले जनाएको छ । महालेखाका अनुसार चालू आर्थिक वर्षको पछिल्लो दुई महिनामा प्रदेश सरकारको स्रोत प्राप्ति १७ अर्ब ३८ करोड रुपैयाँ रहेको छ । यसमध्ये संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी नौ अर्ब ५३ करोड छ र प्रदेश सरकारहरूले परिचालन गरेको राजस्व र अन्य स्रोतबाट सात अर्ब ८५ करोड रहेको छ । त्यसैगरी, समीक्षा अवधिमा प्रदेश सरकारहरूको खर्च सात अर्ब २० करोड रुपैयाँ रहेको महालेखाको भनाइ छ ।