काठमाडौं । डिजिटल बैंकिङलाई सधैँ प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना सेवाहरू डिजिटलाइज गर्ने क्रममा मानव सहायताविनै सोझै मेसिनबाट क्यास डिपोजिट गर्न सकिने सेवाको सुरुवात लक्ष्मी पूजाको दिनबाट गरेको छ । यस नवीनतम सेवामार्फत अब ग्राहकहरूले कुनै भौतिक फारमविना नै सहजरूपमा यस बैंकमा रहेको आफ्नो वा अन्यको सक्रिय बैंक खातामा केबल खाता नम्बरको आधारमा नगद रकम जम्मा गर्न सकिने बैंकले जानकारी दिएको छ । यो सेवाअन्तर्गत ग्राहकहरूले क्यास डिपोजिट मेसिनबाट एक हजार र पाँच सय दरका नोटहरू मात्र जम्मा गर्न मिल्ने व्यवस्था रहेको छ ।
यो सेवाबाट ग्राहकहरूले शाखामा पुगेर लाइनमा बसी फारम भरी नगद जम्मा गर्ने झन्झटबाट मुक्त हुनुहुनेछ भन्ने विश्वास बैंकले लिएको छ । बैंकले यो सेवा हालको लागि आफ्नो दरवारमार्ग शाखा नारायणहिटी पथ, काठमाडौंमा सञ्चालन गरेको र यस सेवालाई निकट भविष्यमा देशका अन्य शाखाहरूमा समेत विस्तार गर्ने योजना बनाइरहेको छ ।
कार्यक्रमको आरम्भ समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेले आधुनिक बैंकिङको प्रमुख अंगको रूपमा रहेको डिजिटल बैंकिङलाई सिटिजन्स बैंकले अत्यन्त प्रभावकारी ढंगले अगााडि बढाएको र शसक्त ढंगले गा्रहक मैत्री सेवा अझ सहज, सुरक्षित, सर्वसुलभ र विश्वासयोग्य बनाइएको बताएका छन् ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि फैलिएका आफ्ना एक सय ८० वटा शाखा, एक सय ३३ वटा एटीएम र ९६ वटा शाखारहित बैंकिङ इकाइहरूबाट करिब १४ लाख ७८ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।