काठमाडौं । करिब दश महिनाअघि क्रेमलिनले युक्रेनको असैनिकीकरणविरुद्ध विशेष सैन्य अभियान घोषणसँगै किएभमाथि आक्रमण गरेपछि विश्वव्यापीरूपमा खाद्यान्न सुरक्षा जोखिम बढिरहेका बेला युक्रेनी अनाज आपूर्ति चक्रमा अवरोध नगर्न संयुक्त राष्ट्रसंघसँगको मध्यस्थतामा गरिएको सम्झौता रूसले अस्वीकार गर्ने जनाएपछि संसारभर भोकमरीको जोखिम बढाएको छ ।
रुसले युक्रेनको अन्न सम्झौता निलम्बन गरेकोमा विश्वव्यापी चिन्ता व्यक्त भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी अन्न बोक्ने जहाजहरूलाई सुरक्षित मार्ग नदिएकामा आपत्ति जनाउँदै त्यसलाई क्रेमलिनको अर्थहीन एवम् अपमानजनक कदम भनेका छन् ।
युक्रेनले कब्जा गरेको क्राइमियाको तटमा रसियाको ब्ल्याक सीमा शनिबार ड्रोन हमला गरेको आरोप लगाउँदै रूसले सम्झौता नमान्ने बताएको छ । तीन सय ९७ पानी जहाजबाट नब्बेलाख टन अन्न आपूर्तिमा अवरोध नगर्ने राष्ट्रसंघसँगको सम्झौता भंग गरेकामा अमेरिकी राष्ट्रपतिले क्रेमलिनको कदम अपमानजक भएको बताएका हुन् ।
युक्रेनको बन्दरगाहबाट अनाजले भरिएका एक सय ७६ वटा जहाजलाई गन्तव्यतर्फ जान दिइएको छैन । ७० लाख उपभोक्ताको खाना रोकेकामा तीव्र रोष प्रकट गर्दै युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले क्रेमलिनका केही मुट्ठीभर मानिसले इजिप्ट वा बंगलादेशका मानिसको खानाको निर्णय गर्न नसक्ने बताएका छन् ।
रुसको यो कदमको अन्तर्राष्ट्रियरूपमा निन्दा भइरहेको छ । युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले निर्णय फिर्ता लिन आग्रह गरेका छन् भने संयुक्त राष्ट्रसंघ महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले विश्व संस्था राष्ट्रसंघ रूसी अधिकारीहरूसँग सम्पर्कमा रहेको बताएका छन् । उनले अनाज आपूर्तिका प्रयासमा कुनै पनि पक्षबाट बाधा पु¥याउन नहुनेमा जोड दिएका छन् ।
रूसले केही समयदेखि अनाज सम्झौताबाट बाहिरिने शर्तहरू राख्दै आएको थियो । उसले युक्रेनी नागरिक र पूर्वाधारलाई लक्ष्य गरी आक्रमण गर्दै आएको छ । विगत २४ घण्टामा रुसी मिसाइलले कम्तीमा पाँच जनाको ज्यान लिनुका साथै नौ जना घाइते भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । यो महिनाको सुरुमा युक्रेनको ऊर्जा केन्द्र, जल प्रवाह तथा उपयोग स्थल, प्रमुख आधारभूत पूर्वाधारहरूमा मिसाइल र ड्रोन हमला गरेर परिस्थितिलाई भयावह तुल्याएको छ । युक्रेनको पूर्वमा भीषण लडाइँ भइरहेको छ । रुसले बाख्मुत सहर कब्जा गर्न खोजिरहेको छ र यस क्षेत्रका धेरै केन्द्र र गाउँमा आक्रमण जारी छन् ।