काठमाडौं । मञ्जुश्री फाइनान्सले चालू आर्थिक वर्षको पहिलोे त्रैमासिक अवधिमा सात करोड ११ लाख ३७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा दुई करोड ८६ लाख ९३ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब ३५ करोड १५ लाख ५३ हजार रुपैयाँ रहेको फाइनान्सले चालू आवको पहिलो त्रैमासमा १० अर्ब ८२ करोड ६९ लाख ४२ हजार रुपैयाँ निक्षेप संकलन गरी नौ अर्ब ७६ करोड ३१ लाख ८४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १७ करोड १० लाख ५९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा दुई दशमलव ४४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । स्प्रेड दर भने चार दशमलव ८७ प्रतिशत रहेको फाइनान्सको वितरणयोग्य नाफा भने छ करोड दुई लाख ४१ हजार रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने फाइनान्सले १० अर्ब २८ करोड ४८ लाख ६८ हजार रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब ९७ करोड ४८ लाख ६९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा आठ करोड २० लाख ९२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा एक दशमलव ९१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव ७८ प्रतिशत रहेको थियो ।