काठमाडौं । हिमालयन बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई सहयोग गरेको छ । बैंकका अनुसार सस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई रुपैयाँ चार लाख ५३ हजार आठ सय ४० रुपैयाँ मूल्यबराबरको १२ थान बारकोड रिडर र १२ थान प्रिन्टर सहयोग स्वरूप प्रदान गरिएको हो ।
सो बारकोड रिडर र प्रिन्टर बैंकले अस्पतालको भुक्तानी काउन्टरमा आउने सेवाग्राहीहरूलाई सहजता होस् भन्ने मनसायले एक समारोहबीच प्रदान गरेको हो । बारकोड रिडरको कमीले गर्दा भुक्तानी काउन्टरका कर्मचारीहरूले सेवाग्राहीहरूको विवरण पटक–पटक प्रविष्ट गर्नुपर्नाले बढी समय लाग्ने भएको हुँदा उक्त झन्झटबाट मुक्त भई सेवाग्राहीको समय बचत होस् र छिटो सेवा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यले बैंकले उक्त समग्रीहरू प्रदान गरेको हो ।
सहयोगका सामग्रीहरू बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले अस्पतालका कार्यकारी सञ्चालक प्राडा दिनेश काफ्लेलाई हस्तान्तरण गरेका हुन् । सो समारोहमा बैंक तथा अस्पतालका अन्य पदाधिकारी एवं कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो ।