जकार्ता । जी–२० शिखर सम्मेलनमा भाग लिन इन्डोनेसिया आउने विदेशी प्रतिनिधि र पत्रकारहरूले जकार्ताको सोइकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थल र बालीको नुगुराह राई अन्तर्राष्ट्रिय विमानस्थलबाट नोभेम्बर १ देखि निःशुल्क भिसासहित देश प्रवेश गर्न सक्नेछन् । सोकर्णो–हट्टा विमानस्थल अध्यागमन कार्यालयले मङ्गलबार सो बारे जानकारी दिएको हो ।
बाली रिसोर्ट टापुमा हुनलागेको शिखर सम्मेलनमा सहभागी हुन विदेशी प्रतिनिधि र पत्रकारले राहदानी, फिर्ता वा एकतर्फी टिकट र दर्ताको प्रमाण वा निमन्त्रणा पत्र लगायतका आवश्यक कागजातहरू मात्र पेश गर्नुपर्ने अधिकारीहरूले जनाएको सिन्ह्वाले जनाएको छ ।
‘निःशुल्क– भिसा प्रवेश नीति नोभेम्बर १८ सम्म कायम रहनेछ र जी–२० सहभागीहरूलाई इन्डोनेसिया प्रवेशमा सहजता ल्याउने उद्देश्यले सो निर्णय गरिएको छ । हाम्रो मुख्य लक्ष्य भनेको हाम्रो अध्यागमन सेवाहरूसँग सहभागीहरूलाई सहज र सुरक्षित बनाउनु हो’, एयरपोर्ट अध्यागमन कार्यालयका प्रमुख मुहम्मद टिटो एन्ड्रियान्टोले उल्लेख गरेका छन् ।