काठमाडौं । ४० लाख रुपैैयाँ जरिवाना ठहर भएका बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार कामरु कन्स्ट्रक्सन प्रालिका सञ्चालक नुवाकोट बेलकोटगढी नगरपालिका–६ का भएका ५१ वर्षीय राममणि दाहाललाई मंगलबार पक्राउ गरिएको हो ।
बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको गत भदौ ६ गतेको फैसलाले १० दिन कैद र ४० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई सीआईबीबाट खटिएको प्रहरीले धादिङको गल्छीबाट पक्राउ गरेको जानकारी दिएको छ । कामरु कन्स्ट्रक्सन प्रालिका सञ्चालक दाहालले २०७७ मंसिर १५ गते उक्त कम्पनीको नाममा कुमारी बैंक लिमिटेडको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनले उक्त फैसला गरेको थियो ।
उनलाई जिल्ला अदालत ललितपुरको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय नख्खु ललितपुरमा पठाइएको सीआईबीले जानकारी दिएको छ । यसैगरी प्रहरीले यशोधरा गाउँपालिका–७ मर्यादपुरबाट स्रोत नखुलेको भारतीय रुपैयाँ पाँच लाख ५२ हजार ७८ सय नगदसहित अर्घाखाँची सन्धिखर्क नगरपालिका–१ मिडिया चोक बस्ने ३९ वर्षीय मुक्ति खनाललाई बुधबार बिहान पक्राउ गरेको जानकारी दिएको छ ।
प्रहरी चौकी मर्यादपुरबाट खटिएको प्रहरीले तौलिहवाबाट मर्यादपुरतर्फ आउँदै गरेको लु.१६ प ४११७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक खनाललाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।