काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)का अध्यक्ष नवराज कुँवर एसियन–ओसियन कम्प्युटिङ इण्डष्ट्री अर्गनाइजेसन (असोसियो)को उपाध्यक्षमा निर्वाचित भएका छन् ।
सिंगापुरमा गत हप्ता सम्पन्न असोसियोको वार्षिक साधारणसभामा भएको निर्वाचनबाट क्यान महासंघको प्रतिनिधित्व गर्दै कुँवर सन् २०२३/०२४ कार्यकालको उपाध्यक्षमा निर्वाचित भएका हुन् । यसअघि उनी सन् २०२२ को जनवरीदेखि क्यान महासंघबाट प्रतिनिधित्व गर्दै असोसियोको सहउपाध्यक्षको जिम्मेवारीमा थिए । कुँवर सन् २०१९ मा क्यान महासंघको अध्यक्ष निर्वाचित भएका हुन् ।
इन्फर्मेसन सर्भिस इण्डष्ट्री एसोसिएसन ताइवानका अध्यक्ष ब्रायन शेनको अध्यक्षतामा निर्वाचित नौ सदस्यीय समितिमा नेपाललगायत जापान, थाइल्याण्ड, दक्षिण कोरिया, हङकङ, भियतनाम, मलेसिया र सिंगापुरका सूचना तथा सञ्चार प्रविधिसम्बन्धी काम गर्ने संगठित छाता संगठनका प्रतिनिधिहरु निर्वाचित भएको क्यान महासंघले जनाएको छ ।
एसिया प्रशान्त क्षेत्रका विभिन्न २४ देशमा रहेका सूचना तथा सञ्चार प्रविधिसम्बन्धी काम गर्ने संगठित छाता संगठनहरु सदस्य रहेको असोसियो सन् १९८४ मा जापानको राजधानी टोकियोमा स्थापना भएको हो ।