सोलुखुम्बु, फागुन २१
दादुरा तथा रुबेलाविरुद्धको खोपअन्तर्गत सोलुखुम्बुमा पहिलो चरणमा दुई हजारभन्दा बढी बालबालिकालाई खोप लगाइएको छ । फागुन १ गतेदेखि ९ गतेसम्म सञ्चालन भएको पहिलो चरणको खोप कार्यक्रमबाट जिल्लाका तीन स्थानीय तहका दुई हजार ८६ जना बालबालिकालाई खोप लगाइएको हो ।जिल्लामा पहिलो चरणमा खोप सञ्चालन भएका लिखुपिके, महाकुलुङ र सोताङ गाउँपालिकाभित्रका बालबालिकालाई खोप लगाइएको हो । जसअन्तर्गत लिखुपिके गाउँपालिकामा तीन सय ७७ जना बालबालिकालाई खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका सूचना अधिकारी रामनारायण साहले जानकारी दिए ।
त्यस्तै सोताङ गाउँपालिककामा सात सय ७० जना बालबालिकालाई खोप लगाइएको छ भने महाकुलुङ गाउँपालिकाका नौ सय ३९ जना बालबालिकालाई खोप लगाइएको साहको भनाइ छ । पहिलो चरणको कार्यक्रम सम्पन्न भएको जिल्लामा अहिले दोस्रो चरणको कार्यक्रम जारी रहेको छ । दोस्रो चरणको खोप कार्याक्रम सञ्चालन गरिएका नेचासल्यान गाउँपालिका र थुलुङदुधकोशी गाउँपालिकामा कार्यक्रम सम्पन्न भए पनि सोलुदुधकुण्ड नगरपालिकामा भने कार्यक्रम जारी रहेको साहले बताए । जसअन्तर्गत थुलुङदुधकोशी गाउँपालिकामा एक हजार चार सय ७७ जना बालबालिकालाई खोप लगाइएको छ । यता नेचासल्यान गाउँपालिकामा भने सात सय सात जना बालबालिकालाई खोप लगाइएको छ । तेस्रो चरणमा जिल्लाको माप्यदुधकोशी गाउँपालिका र खुम्बु पासाङ ल्हामु गाउँपालिकामा खोप कार्यक्रम सञ्चालन हुनेछ ।