काठमाडौं । यससाता सेयरबजार परिसूचक एक हजार नौ सय २२ दशमलव १६ विन्दुमा कायम रहेको छ । यसैगरी क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ७९ दशमलव ४३ विन्दुमा पुग्न सफल भएको छ ।
यस साता धितोपत्र बजारमा दुई सय ३१ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार ९२ हजार आठ सय ६७ पटकको कारोबारमा एक करोड ३६ लाख छ हजार आठ सय १६ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम चार अर्ब ३५ करोड ४८ लाख चार हजार नौ सय ५८ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै दुई अर्ब रुपैयाँले बढी हो ।
गतसाता भने धितोपत्र बजारमा दुई सय २१ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुसार ६७ हजार नौ सय ५५ पटकको कारोबारमा ७९ लाख चार हजार सात सय पाँच कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम दुई अर्ब ४७ करोड छ लाख ४२ हजार ५९ रुपैयाँ पुगेको थियो । यससाता नेप्सेको नियमित कारोबार कक्ष सातामा चार कार्यदिन मात्र खुला रहेको थियो । जसमध्ये पहिलो दिन सार्वजनिक बिदा परेका कारण नेप्से बन्द रहेको थियो भने दोस्रो, तेस्रो र चौथो दिन लगातार सेयर बजार परिसूचक उकालो लागेको थियो । पाँचौँ कार्यदिन भने बजार परिसूचक ओरालो लागेको थियो ।
पहिलो कारोबार दिन सार्वजनिक बिदा परेकाकारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो भने दोस्रो कारोबार दिन पनि बजार परिसूचक १६ दशमलव ३९ अंकले उकालो लागेर एक हजार आठ सय ७४ दशमलव ८७ विन्दुुमा चढेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ९३ अंकले उकालो लागेर तीन सय ७० दशमलव ८६ विन्दुमा चढेको थियो ।
तेस्रो कारोबार दिन पनि बजार परिसूचक ५६ दशमलव एक अंकले उकालो लागेर एक हजार नौ सय ३० दशमलव ९७ विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव २८ विन्दुले उकालो लागेर तीन सय ८२ दशमलव १४ विन्दुमा चढेको थियो । चौथो कारोबार दिन पनि बजार परिसूचक सात दशमलव ३२ अंकले उकालो लागेर एक हजार नौ सय ३८ दशमलव ३० विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ७९ विन्दुले उकालो लागेर तीन सय ८२ दशमलव ९४ विन्दुमा चढेको थियो । पाँचौँ कारोबार दिन भने बजार परिसूचक १६ दशमलव १४ अंकले ओरालो लागेर एक हजार नौ सय २२ दशमलव १६ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स भने तीन दशमलव पाँच विन्दुले ओरालो लागेर तीन सय ७९ दशमलव ४३ विन्दुमा झरेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा शिवम् सिमेन्ट, नबिल बैंक, नेपाल टेलिकम आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा शिवम् सिमेन्ट, नेपाल टेलिकम, नेसनल हाइड्रोपावर कम्पनी आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यससाता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।