एजेन्सीअमेरिका, फागुन २१
सामाजिक सञ्जाल ट्विटरले आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न अनुरोध गरेको छ । यसो गर्दा कोरोनाभाइरसको संक्रमण फैलिन केही कम हुने कम्पनीको भनाइ छ । एउटा ब्लगपोष्टमा कम्पनीले विशेषगरी हङकङ, जापान र दक्षिण कोरियाका कर्मचारीलाई यो निर्देशन बाध्यकारी हुने
स्पष्ट पारेको छ ।
ट्विटरका विश्वभर ५ हजार कर्मचारी छन् । उसले सबैलाई घरबाटै काम गर्न प्रोत्साहन गरेको उल्लेख गरेको छ । कम्पनीले यसअघि नै कर्मचारीलाई अनावश्यक यात्रा र कार्यक्रममा सहभागी हुन रोक लगाएको छ । ट्विटरकी मानव स्रोत प्रमुख जेनिफर क्रिस्टीले भनिन्, ‘हाम्रो लक्ष्य भनेको कोभिड १९ फैलिनबाट कम गर्ने प्रयास हो ।’ कम्पनीले जुनसुकै स्थानबाट पनि काम गर्न सक्ने गरी वातावरण निर्माण भइरहेको समेत जनाएको छ ।