अमेरिका । सामाजिक सञ्जाल ट्विटरमा अब प्रयोगकर्ताले आफ्नो आईडीमा निलो संकेत राख्न पैसा तिर्नुपर्ने भएको छ । शनिबार आईओएस एपको आफ्नो नवीन भर्सन सार्वजनिक गर्दै यस्तो नीति अख्तियार गरेको हो ।
अर्बपति इलोन मस्कले ट्विटर खरिद गरेयता प्रयोगकर्तासँग पैसा असुल्ने बताउँदै आएका थिए । योसँगै अब प्रयोगकर्ताले आफ्नो प्रोफाइलमा देखिने निलो संकेतका लागि ७.९९ अमेरिकी डलर प्रतिमहिना दरले पैसा तिर्नुपर्नेछ । अहिले प्रयोगकर्ताले आधिकारिकता पुष्टि भएपछि जो कोही लिन चाहनेलाई यस्तो संकेत उपलब्ध गराउँदै आएको छ । हाल यस्तो संकेत चर्चित व्यक्तित्वहरु कलाकार, राजनीतिज्ञ, सरकारी ट्विटर ह्यान्डलजस्तालाई दिँदै आएको छ ।
नयाँ भर्सन एप स्टोरमा उपलब्ध भइसकेको छ । सबैतिर भने अझै छैन । ट्विटरका प्रडक्ट मेनेजमेन्टका निर्देशक एस्थर क्रफर्डले शुल्क लिने व्यवस्था गरेको बताए । सीएनएनका अनुसार नयाँ निलो संकेत अझै लाइभ भइसकेको छैन । नयाँ भर्सन अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्युजिल्यान्ड र बेलायतमा एप्पलका प्रयोगकर्ताका लागि भने उपलब्ध भइसकेको छ ।