एजेन्सी नयाँ दिल्ली, फागुन २१
चीनबाट फैलिएको कोरोना भाइरसको कारण भारतीय उद्योगहरुमा समेत देखिन थालेपछि सरकारले २६ प्रकारका औषधिहरु प्यारासिटामोल, भिटाभिन बी१ र बी१२ सहित अन्य औषधि निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । भारतीय मिडियाहरुका अनुसार ती औषधि निर्यातका लागि वाणिज्य मन्त्रालयको मातहत रहेको विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी)बाट अनुमतिपत्र लिनुपर्नेछ । हालसम्म यी औषधि निर्यातमा कुनै प्रतिबन्ध या कडाइ गरिएको थिएन । डीजीएफटीले एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि कायम रहने बताएको छ ।
कोरोना भाइरसको संक्रमण विश्वभर फैलिँदै गर्दा भारतले औषधि निर्यातमा कडाइ गरेको हो । भारतले औषधिको कच्चा पदार्थ चीनबाट धेरै आयात गर्छ । तर सीमित मात्रामा तिनको निर्यात समेत गर्छ । पछिल्लो वर्ष भारतले २२ करोड डलरको कच्चा पदार्थ निर्यात गरेको थियो । तर सोही पदार्थ साढे ३ अर्ब डलरको वार्षिक आयात गर्ने गर्छ ।