काठमाडौं । धितोपत्रको मार्जिन कारोबारका लागि ८७ वटा कम्पनी योग्य भएका छन् । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले ८७ वटा कम्पनी मात्रै मार्जिन कारोबारका लागि योग्य रहेको जानकारी दिएको छ ।
नेप्सेका अनुसार ‘मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५’ अनुसार मार्जिन कारोबार भन्नाले धितोपत्र दलाल व्यवसायीमार्फत तोकिएको मार्जिन राखेर सेयर खरिदबिक्री गर्ने कार्य हो । ‘सामान्य अर्थमा पुँजीबजारका लगानीकर्ताले आफूसँग भएको रकमभन्दा बढी रकमको सेयर खरिद गर्न पाउने सुविधा नै मार्जिन कारोबार हो’, नेप्सेले भनेको छ ।
नेप्सेले प्रत्येक आर्थिक वर्षका लागि मार्जिन कारोबारयोग्य धितोपत्रको सूची सार्वजनिक गर्दै आएकोमा यो वर्ष उक्त सूचीमा ८७ वटा कम्पनीहरू छनोट भएका हुन् । यो वर्ष मार्जिन कारोबारको लागि छनौटमा परेको कम्पनीहरूमा सञ्चालनमा रहेका २६ मध्येबाट १७ वटा वाणिज्य बैंक, सञ्चालनमा रहेका १७ वटामध्येबाट आठ वटा विकास बैंक, पाँचवटा वित्त कम्पनी, १३ वटा जलविद्युत् कम्पनी, १० वटा बीमा कम्पनी र २९ वटा लघुवित्त वित्तीय संस्थाहरू परेका छन् ।
यसैगरी तारागाउँ होटल रिजेन्सी लिमिटेड, नागरिक लगानी कोष, हिमालयन डिस्टिलरी लिमिटेड, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र शिवम् सिमेन्ट लिमिटेडले पनि मार्जिन कारोबारको सुविधा पाएको नेप्सेले जानकारी दिएको छ ।
नेप्सेका आनुसार यी कम्पनीका लगानीकर्ताले मार्जिन कारोबार सुविधा पाउनका लागि धितोपत्र दलाल व्यवसायीसमक्ष मार्जिन कारोबारका लागि खाता खोल्नुपर्छ । धितोपत्रको मार्जिन कारोबार गर्ने अनुमति पाएका दलाल व्यवसायीले मात्रै मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सक्ने नेप्सेले जनाएको छ ।