काठमाडौं । काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंसिर १५ गते बिहीबारदेखि तीव्र गतिमा सवारीसाधन चलाउने चालकहरुलाई पनि जरिवानाका साथै अनिवार्य १ घण्टाको सचेतना कक्षा सञ्चालन गर्ने भएको छ । अहिलेसम्म मापसे गरेर सवारीसाधन चलाउने, लेन नियम उल्लङ्घन गर्ने र रातो बत्ती क्रस गरेमा मात्रै सचेतना कक्षा लिनुपर्ने व्यवस्था रहेको थियो ।
काठमाडौं उपत्यकामा हुने सवारी दुर्घटनाको मुख्य कारण नै तीव्र गतिमा सवारीसाधन चलाउनु रहेकोले अनिवार्यरुपमा सचेतना कक्षा लिनुपर्ने व्यवस्था गर्न लागिएको कार्यलयले जनाएको छ । प्रहरीका अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा तीन हजार पाँच सय ४३ र चालू आर्थिक वर्षको तीन महिनाको छ सय ४९ वटा सवारी दुर्घटनाहरु तीव्र गतिका कारण भएका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा १८ हजार चार सय४ सात जना र चालू आर्थिक वर्षको तीन महिनामा आठ हजार पाँच सय ८४ जना तीव्र गतिमा सवारीसाधन चलाउने चालकहरुलाई कारबाही गरेको थियो । कारबाही गरिए पनि सवारीचालकहरुमा सचेतनाको कमीले गर्दा तीव्र गतिमा सवारीसाधन चलाउने प्रवृतिमा कमी नआएको र दुर्घटनाहरु समेत बढ्दै गएकोले अनिवार्य रुपमा एक घण्टाको सचेतना कक्षामा सहभागी हुनुपर्ने व्यवस्था गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।