काठमाडौं । संयुक्त अरब इमिरेट्सको दुबईमा सुरु भएको इन्टरनेशनल जेम एन्ड ज्वेलरी प्रदर्शनीमा नेपाली गहनालाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने समझदारी भएको छ । नेपाल रत्न तथा आभूषण संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठले जेम एन्ड ज्वेलरीको विकास र विस्तारका लागि दुबई सिटी अफ गोल्ड एसोसिएसन र जेम एन्ड ज्वेलरी एक्स्पोर्ट प्रमोसन सेन्टरसँग सहकार्य गर्ने सहमति गरेकी हुन् ।
नेपाली गरगहनालाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धनका लागि यस्तो सहमति गरिएको अध्यक्ष श्रेष्ठले बताइन् । नेपाल रत्न तथा आभूषण संघका अध्यक्ष श्रेष्ठको नेतृत्वमा गएको व्यवसायीहरुको प्रतिनिधिमण्डलले दुबई जेम एन्ड ज्वेलरी शोमा सहभागिता जनाएको छ । यूएईका लागि भारतीय राजदूत सञ्जय सुधीरले उद्घाटन गरेको दुबई जेम एन्ड ज्वेलरी शो तीन दिनसम्म सञ्चालन हुनेछ र यसमा संसारका २८ मुलुकका तीन सय ५० भन्दा बढी व्यवसायी सहभागी भएका छन् । तीन दिनसम्म चल्ने शोमा नेपाली व्यवसायीहरुले यस क्षेत्रमा विकसित पछिल्लो ट्रेन्डबारे बुझ्ने र यसले निकासी व्यापारमा योगदान पुग्नसक्ने संघका अध्यक्ष श्रेष्ठले बताइन् ।
नेपाल जेम एन्ड ज्वेलरीको उच्च सम्भावनायुक्त देश भएको र यस्ता एक्स्पोमा नेपाली व्यवसायीको सहभागिताले नेपाली सीप र कौशलको अन्तर्राष्ट्रियकरणमा समेत सहयोग पुग्ने उनको भनाइ छ । ‘दुबई जेम एन्ड ज्वेलरी शो भनेको व्यवसायीहरुको जमघट हुने यस क्षेत्रकै सबैभन्दा ठूलो अवसर पनि हो’, श्रेष्ठले भनिन्, ‘यस्ता एक्स्पोमा क्रेता र बिक्रेताबीच भेटघाट हुने भएकाले व्यवसाय बढाउन पनि मद्दत पुग्नेछ ।’