काठमाडौं । नेपाल धितोपत्र बोर्डले बिहीबारबाट संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ कार्यान्वयनमा ल्याएको छ । धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा बोर्डले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने भएमा बोर्डबाट पूर्वस्वीकृति लिनुपर्ने व्यवस्थासहित संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी अन्य व्यवस्था निर्देशिकामा उल्लेख भएबमोजिम हुने व्यवस्थाअनुसार बोर्डले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ कार्यान्वयनमा ल्याएको हो ।
यो निर्देशिका कार्यान्वयमा आएपश्चात् बोर्डमा धितोपत्र दर्ता गराएका दुई वा दुईभन्दा बढी संगठित संस्थाबीच प्रचलित कानुनबमोजिम एकआपसमा भएको सम्झौताबमोजिम गाभिने संस्थाको अस्तित्व समाप्त भई गाभ्ने संस्थामा समाहित हुने वा एक आपसमा गाभिई नयाँ संस्था बन्नसक्ने बाटो खुल्ला भएको छ ।
निर्देशिकाअनुसार मर्जर वा प्राप्ति प्रक्रियामा बोर्डमा धितोपत्र दर्ता गराएको संगठित संंस्थाको सञ्चालक समितिले गाभ्ने, गाभिने वा प्राप्तिसम्बन्धी प्रारम्भिक समझदारी गरेको दिन वा सोको भोलिपल्ट कारोबार समयअगाडि गाभ्ने, गाभिने वा लक्षित संगठित संस्थाको आधारभूत सेयरधनीको कारोबार दफा ७ बमोजिमको साधारणसभा सम्पन्न नभएसम्म रोक्का राख्न आधारभूत सेयरधनीको विवरणसहित संगठित संस्थाले धितोपत्र बजार र केन्द्रीय निक्षेप सेवा प्रदायक संस्था समक्ष निवेदन दिनुपर्नेछ । यसरी प्राप्त निवेदनबमोजिम धितोपत्र बजार तथा केन्द्रीय निक्षेप सेवा प्रदायक संस्थाले सो संस्थाको आधारभूत सेयरधनीको कारोबार तत्काल रोक्का राख्ने व्यवस्था गर्नुपर्नेछ ।
यसैगरी बोर्डमा धितोपत्र दर्ता गराएको संगठित संस्था वा सो संस्थाको सेयर रजिष्ट्रारले उपदफा (१) बमोजिमको आधारभूत सेयरधनीको विवरण धितोपत्रको राफसाफ तथा अन्य कुनै कारणले हेरफेर भएमा तत्काल वा भोलिपल्ट कारोबार समयअगावै धितोपत्र बजार तथा केन्द्रीय निक्षेप सेवा प्रदायक संस्थालाई उपलब्ध गराउनुपर्नेछ । बोर्डका अनुसार यसरी प्राप्त विवरणलाई आधार मानेर धितोपत्र बजार तथा केन्द्रीय निक्षेप सेवा प्रदायक संस्थाले कारोबार रोक्का गरिने आधारभूत सेयरधनीको विवरण आफ्नो कारोबार प्रणालीमा अद्यावधिक गरी सोबमोजिम आधारभूत सेयरधनीको कारोबार रोक्का राख्नुपर्नेछ ।
निर्देशिकाअनुसार गाभ्ने, गाभिने वा प्राप्तिसम्बन्धी जानकारी राख्ने संगठित संस्थाका सञ्चालक, कर्मचारी तथा अन्य सम्बन्धित पक्षले प्रारम्भिक समझदारी नभएसम्म गाभ्ने, गाभिने वा प्राप्ति सम्बन्धमा कुनै पनि सूचना तथा जानकारी सार्वजनिक गर्न पाइनेछैन । धितोपत्र दर्ता गराएको संगठित संस्थाले प्रारम्भिक समझदारी गरेपछि उक्त संगठित संस्थाको दफा (७) बमोजिमको साधारणसभाबाट गाभ्ने, गाभिने वा प्राप्तिसम्बन्धी प्रस्ताव निर्णय नभएसम्म गाभ्ने, गाभिने वा प्राप्ति प्रक्रिया रद्द गर्न सक्नेछैन ।
यसैगरी संगठित संस्थाले गाभ्ने, गाभिने वा प्राप्ति कार्य प्रारम्भिक सम्झौता भएपछि छ महिनाभित्र सम्पन्न गरिसक्नुपर्नेछ । तर तोकिएको समयावधिभित्र गाभ्ने, गाभिने वा प्राप्ति कार्य सम्पन्न नभएमा सम्बन्धित संगठित संस्थाको सञ्चालक समिति जवाफदेही हुने निर्देशिकामा भनिएको छ ।
निर्देशिकाअनुसार धितोपत्र दर्ता गराएको संगठित संस्था र धितोपत्र दर्ता नगराएको संगठित संस्था एक आपसमा गाभ्ने वा प्राप्ति गर्दा त्यस्तो संगठित संस्थाले सम्बन्धित नियमनकारी निकाय वा प्रचलित कानुनले तोकेको स्वामित्व सेयर संरचना कायम हुने गरी मिलाउनुपर्नेछ । सेयर कारोबार फुकुवासम्बन्धी विशेष व्यवस्थाअन्तर्गत भने यो निर्देशिका प्रारम्भ हुनुअघि गाभ्ने, गाभिने वा प्राप्ति प्रक्रियामा रहेका कारण सेयर कारोबार रोक्का रहेका संगठित संस्थाको आधारभूत सेयरधनीबाहेक अन्य सेयरधनीको सेयर कारोबार फुकुवा गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।