काठमाडौं । नेपाल राष्ट्र बैंकले कात्तिक २८ गते अर्थात् आज सोमबार पुनः १३ अर्ब ८५ करोड रुपैयाँबराबरको ट्रेजरी बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न २ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही कात्तिक २१ गते पनि राष्ट्र बैंकले १८ अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
राष्ट्र बैंकका अनुसार जारी मिति कात्तिक २९ मंगलबार तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने उक्त ट्रेजरीहरु क्रमशः २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको दुई अर्ब र एक सय ८२ दिने अवधिको नौ अर्ब ८५ करोड ५० लाख रुपैयाँबराबरको रहेको छ । जसमध्ये २८ दिनेको २०७९ मंसिर २७ गते, ९१ दिनेको २०७९ फागुन २ गते र एक सय ८२ दिने अवधिको २०८० जेठ २ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार आज बिक्री हुुने यी ट्रेजरी बिलहरु पुरानो नवीकरणअन्तर्गतका रहेका छन् ।
यसअघि अर्थात् गत साता पनि राष्ट्र बैंकले २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको सात अर्ब १० करोड र एक सय ८२ दिने अवधिको छ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल जारी गरेको थियो ।