काठमाडौं । राजनीतिक दल तथा उम्मेदवारहरुले निर्वाचन प्रचारको क्रममा दैनिक गरेको खर्च नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले अध्ययन गर्ने भएको छ ।
निर्वाचनमा खर्च गर्दा आयोगले तोकेको सीमाभित्र रही खर्च गरे नगरेको विषयमा सूक्ष्म अनुगमन गरी प्रत्येक दिन साँझ ७ः०० बजेभित्र छिटो साधनद्वारा जिल्लास्थित कार्यालयमा र जिल्लास्थित कार्यालयले आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा प्रतिवेदन पठाउन निर्वाचन आचारसंहिता, २०७९ को दफा ४२ बमोजिम गृह मन्त्रालयमार्फत नेपाल प्रहरी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत राष्ट्रिय अनुसन्धान विभागलाई लेखी पठाउने निर्णय निर्वाचन आयोगले गरेको छ । निर्वाचन आचारसंहिताको पालना तथा सो सम्बन्धमा गरेका सबै क्रियाकलापहरु पनि ती निकायले दैनिक आयोगलाई दिनुपर्नेछ ।
निर्वाचन आचारसंहिता, २०७९ पालना गर्नुपर्ने दायित्व भएका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहअन्तर्गतका निकाय, अर्धसरकारी निकाय तथा सार्वजनिक संस्था, सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना, विकास समितिजस्ता निकायमा कार्यरत कर्मचारी, सुरक्षाकर्मी तथा विद्यालय वा विश्वविद्यालयका शिक्षक, प्राध्यापक, कर्मचारीलगायत निर्वाचनको काममा संलग्न कर्मचारीले निर्वाचन आचारसंहिताविपरीतको काम कारबाही गरेको अवस्थामा जोसुकैलाई तत्काल स्पष्टीकरण सोधी कारबाही अघि बढाउन जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिने निर्णय पनि आयोगले गरेको छ ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको सन्दर्भमा आइतबार आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिका संयोजक आयुक्त रामप्रसाद भण्डारीको संयोजकत्व एवं प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया तथा आयुक्त ईश्वरीप्रसाद पौडेलको उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
आफ्नो कार्यक्षेत्रभित्रको कुनै पनि स्थानमा कुनै उम्मेदवार वा राजनीतिक दलले अस्वाभाविक गतिविधि गरेको, भोजभतेर गरेको, हातहतियार वा निषेधित पदार्थ लिई हिँडेको, शान्ति भङ्ग गर्ने कुनै कार्य गरेको, निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने उद्देश्यले कुनै कार्य गरेको वा गर्न लगाएको, कसैलाई डर त्रास, धाकधम्की प्रलोभन दिनेजस्ता कार्य गरेको लगायतका क्रियाकलाप भए गरेको पाइएमा निगरानी राखी तत्काल जानकारी गराउने र कारबाही गर्नुपर्ने विषयमा तत्काल कारबाही प्रारम्भ गर्न जिल्ला आचारसंहिता अनुगमन समिति, निर्वाचन अधिकृत र अनुगमन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको केन्द्रीय आचारसंहिता अनुगमन समितिले गरेको छ ।
निर्वाचनको प्रचारप्रसार निषेध भएको अवधि (मतदान सुरु हुने दिनभन्दा अड्चालीस घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म) मा मादक पदार्थ बिक्रीवितरण र सेवन गर्न निषेध गर्न र प्रचलित कानुनबमोजिम जफत गर्नुपर्ने भए जफत गर्न समेत गृह मन्त्रालयमार्फत नेपाल प्रहरीलाई निर्देशन दिने निर्णय पनि समितिले गरेको छ ।
यस्तै, अनुगमन अधिकृत र जिल्ला आचारसंहिता अनुगमन समितिलाई हालसम्म प्राप्त भएको आचारसंहिता उल्लंघनसम्बन्धी उजुरी र सो सम्बन्धमा सोधेको स्पष्टीकरण, हालसम्म भएको उजुरीको फछ्र्यौट र कारबाहीको अवस्थासहितको प्रगति विवरण तीन दिनभित्र केन्द्रीय आचारसंहिता अनुगमन समिति वा आयोगमा पठाउन निर्देशन दिएको छ ।
निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा (५) बमोजिम तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम मतदान हुने दिनको अघिल्लो अड्चालीस घण्टादेखि मतगणनाको काम पूरा नभएसम्म निर्वाचन प्रचारप्रसारसम्बन्धी कुनै पनि गतिविधि गर्न नपाइने विषयमा राजनीतिक दल तथा उम्मेदवारलाई जानकारी गराई उक्त व्यवस्थाको पूर्ण पालना गर्न गराउन जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिने निर्णय पनि समितिले गरेको छ ।