काठमाडौं । नबिल बैंकले विद्युतीय सवारीसाधान खरिदको लागि ८० प्रतिशतसम्म कर्जा दिने भएको छ । बैंकका अनुसार टाटा मोटर्सअन्तर्गतका विद्युतीय सवारी खरिद गर्नको लागि उक्त परिमाणमा ऋण दिन लागिएको हो ।
ऋणको लागि नबिल बैंक र टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङबीच विद्युतीय सवारी खरिदमा ८० प्रतिशतसम्म ऋण उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको हो । सम्झौताअनुसार टाटाको नेक्सन र टिगोर विद्युतीय गाडी खरिद गर्दा ग्राहकले नबिल बैंकबाट ८० प्रतिशतसम्मको ऋण प्राप्त गर्न सक्नेछन् । टाटा मोटर्सबाट विद्युतीय सवारीसाधन खरिद गर्न चाहने व्यक्ति वा संस्थाले नबिल बैंकका सबै शाखाबाट १२ दशमलव ९९ प्रतिशत ब्याजदरमा सात वर्षसम्म सहज र सुलभ कर्जाको सुविधा पाउन सक्नेछन् ।
बैंकले २४ घण्टाभित्र ऋण उपलब्ध गराउने जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशनबमोजिम उक्त ऋण प्रवाह गर्ने बैंकको भनाइ छ । नेपालमा विद्युतीय सवारीको प्रयोगलाई बढाउनका लागि उक्त सम्झौता गरेको जानकारी पनि बैंकले दिएको छ ।