काठमाण्डौं,फागुन २२
कोरोना भाइरस
बिश्व बैंकले कोरोनाको आकस्मिक उपचारको लागि १२ अर्ब डलर दिने भएको छ । उक्त रकम विकासोन्मुुख राष्ट्रहरुको लागि अतिकम ब्याजदरमा ऋण, अनुुदान र प्राविधिक सहयोग शीर्षकअन्तर्गत दिन लागिएको विश्व बैंकले जनाएको छ । विश्वका धेरै राष्ट्रहरुले कोरोना भाइरसको संक्रमण रोक्ने उपायहरु अवलम्बन गरिरहँदा विश्व बैंकले उक्त प्रतिबद्धता जनाएको हो । भाइरस संक्रमणकै कारण विभिन्न देशले आर्थिक मन्दीको सामना गर्नुपर्ने समेत हुनसक्ने बताइएको छ । खासगरी विश्व बैंकले सार्वजनिक स्वास्थ्यका चुनौतीको सामना गर्न सकून् भनेर उक्त रकम दिन लागेको बीबीसीले जनाएको छ । साथै उक्त रकम सरकारहरुले निजी क्षेत्रसँग मिलेर आर्थिक प्रभाव कम गर्न सहयोग पुग्ने समेत विश्व बैंकले जनाएको छ ।
‘रोगको संक्रमण कम गर्ने उद्देश्यले हामी प्रयासरत छौँ’, विश्व बैंक समूहका अध्यक्ष डेभिड माल्पासले भने । विश्व बैंकले आफूले दिने सहयोग अतिकम विकसित देशलाई प्राथमिकतामा राखेर वितरण गर्ने जनाएको छ । कोरोना भाइरस संक्रमण हाल विश्वका ७० भन्दा बढी देशमा फैलिसकेको छ । घोषित १२ अर्ब डलरमध्ये आधा रकम बैंकको अन्तर्राष्ट्रिय वित्त निगमबाट उपलब्ध हुनेछ । निगमले निजी क्षेत्रसँग काम गर्छ । त्यस्तै ४ अर्ब डलर भने कोषहरुबाट उपलब्ध गराइनेछ । खासगरी विश्व बैंकको उक्त सहयोग कमजोर स्वास्थ्य प्रणाली भएका, सीमित वित्तीय स्रोत भएका र चीनसँग सिधै आर्थिक सम्बन्ध भएका राष्ट्रले पाउनेछन् । ती देशहरुमध्ये श्रीलंका, भियतनाम र फिलिपिन्सलगायत छन् । ओभरसिज डेभलपमेन्ट इन्स्टिच्युटले तयार गरेको जोखिमपूर्ण सूचकांकका आधारमा सहयोग वितरण हुनेछ । अधिकारीहरुका अनुसार विश्वभर भाइरस संक्रमण ९२ हजार जनामा देखिएको छ । त्यसमध्ये ८० हजार चीनकै संक्रमित छन् । हालसम्म भाइरस संक्रमणले ३ हजार बढीको ज्यान गइसकेको छ । मृतक अधिकांश चीनकै छन् । चीनमा बुधबार मात्रै ३८ जनाको ज्यान गएको छ । तर संक्रमित दर भने घटिरहेको एजेन्सीहरुले जनाएका छन् । चीनपछि दक्षिण कोरियामा बढी संक्रमित भएका छन् । हालसम्म बुधबार नयाँ ५ सय १६ जनासहित कुल ५ हजार ३ सय २८ जनामा कोरोना भाइरस संक्रमण फेला परिसकेको छ । कोरियामा यसकै कारण ३३ जनाको मृत्यु भइसकेको छ ।
भाइरस संक्रमणको असर विश्व सेयरबजारमा पनि उस्तै छ । मंगलबार अमेरिकाको डो जोन्स ८ सय अंकले घटेको थियो । सोमबार भने बढेको थियो । कोरोना भाइरसकै प्रभावलाई मध्यनजर गर्दै फेडेरल रिजर्भले शून्य दशमलव पाँच प्रतिशतले ब्याजदर कटौती गर्ने जनाइसकेको छ । यो कटौती दशकयताकै बढी हो । त्यस्तै ग्रुप अफ सेभेन (जी७) राष्ट्रका अर्थमन्त्रीहरुले भाइरसविरुद्ध लड्न आवश्यक कदम चाल्न तयार रहेको बताएका छन् । इरानले संक्रमण रोक्न ५४ हजार कैदीबन्दीलाई अस्थायी रुपमा जेलबाट निकालेको छ । इरानमा पनि दुई हप्ताभित्र ७७ जनाको मृत्यु भइसकेको छ । त्यस्तै संक्रमितको संख्या समेत ५० प्रतिशतले बढेको जनाइएको छ । उता इटलीमा भाइरसकै कारण मर्नेको संख्या २४ घण्टाभित्र ५० प्रतिशतले बढेको छ । इटलीमा ७९ जनाको मृत्यु भइसकेको छ । त्यस्तै अमेरिकामा ६ जनाको मृत्यु भएको छ । स्पेनमा एक जनाको मृत्यु भएको छ ।