काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो १६औँ वार्षिकोत्सव सम्पन्न गरेको छ । बैंकले कात्तिक २१ गतेदेखि कात्तिक २७ गतेसम्म सप्तहाव्यापीरुपमा देशभर विभिन्न कार्यक्रमहरु आयोजना गरी केन्द्रीय कार्यालय, ज्ञानेश्वर काठमाडौंमा मूल समारोह गरी सम्पन्न गरेको हो । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न ठाउँमा सरसफाइ, फोहोर व्यवस्थापनको लागि विभिन्न सामग्री वितरण, रक्तदान कार्यक्रम, वित्तीय साक्षरता अभियान, पुरुष केएस फुट्सल कप सिजन २ तथा महिला केएस फुट्सल कपका साथै, विभिन्न जनचेतनामूलक कार्यक्रमहरु आयोजना गरेको जानकारी दिएको छ ।
‘रक्तदान जीवन दान’ भन्ने नारालाई आत्मसात गरी देशव्यापीरुपमा आयोजना गरिएको रक्तदान कार्यक्रममा सातै प्रदेशमा गरी कुल चार सय तीन युनिट रगत संकलन गरिएको थियो । केएस फुट्सल कपअन्तर्गत पुरुष केएस फुट्सल कप सिजन दुईको उपाधि सिद्धार्थ बैंकले र महिलातर्फको उपाधि कामना सेवा विकास बैंकले जितेको छ । बैंकको १६औँ गौरवमय स्थापना दिवस अर्थात् मूल समारोहको दिन कात्तिक २७ गते बैंकको केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरुमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको थियो ।
बैंकका अध्यक्ष सुदिप आचार्यको अध्यक्षता तथा काठमाडौं महानगरपालिका वडा नं. ३० का वडा अध्यक्ष दल बहादुर कार्कीको प्रमुख आतिथ्यतामा केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा मूल समारोहोको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा सञ्चालक विशेश्वर सुवेदी, संस्थापकहरु, विभिन्न सञ्चारमाध्यमका पत्रकारहरु, वडा प्रतिनिधिहरु, बैंकका कर्मचारी वर्ग तथा स्थानीय व्यक्तिहरुको उपस्थिति रहेको थियो । यसैगरी सोही दिन आनन्द भैरव मन्दिरको फोहोर व्यवस्थापनको लागि गार्वेज बिन स्टोरेज सेड तथा डिजिटल डोनेसन बक्स समेत हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
उपरोक्त कार्यक्रमहरुमा काठमाडौं महानगरपालिका वडा नंं. ३० का अध्यक्ष कार्की, ज्ञान भैरव क्लब (आनन्द भैरव मन्दिर) समितिका महासचिव रामेश्वर राउत तथा अध्यक्ष बसन्त राईले शुभकामना मन्तव्य दिँदै बैंकले गरेको कार्य अत्यन्तै सराहनीय रहेकोले अरुले पनि यसको अनुसरण गर्नुपर्ने बताउँदै आगामी दिनहरुमा समेत बैंकसँग सहकार्य गर्ने प्रतिबद्धता समेत जाहेर गरेका थिए ।
बैंकका अध्यक्ष सुदिप आचार्यले बैंकको यो लामो यात्रामा अमूल्य सहयोग र साथ दिने नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, अन्य नियामक निकाय तथा ग्राहकहरुप्रति हार्दिक आभार प्रकट गर्दै आगामी दिनहरुमा समेत यस्तै साथ र सहयोग रहने अपेक्षा समेत गरेका थिए भने बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले बैंकले आजसम्मको लामो यात्रामा हासिल गरेको प्रगति तथा भावी कार्ययोजनाका बारेमा प्रकाश पारेका थिए ।