काठमाण्डौं,फागुन २२
एनआईसी एसिया बैंकले बिद्यालयलाई रकम सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका वडा नं १ स्थित देविस्थान माध्यमिक विद्यालयलाई फर्निचर सामग्री खरिद गर्नका लागि तीन लाख रूपैयाँ नगद सहयोग गरेको हो । मंगलबार बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले विद्यालयका प्रधानाध्यापक नारायण नेपाललाई सो रकमको चेक हस्तान्तरण गरेका हुुन् । बैंकको सहयोगले विद्यालयमा अध्ययनरत चार सय ७६ विद्यार्थीहरू लाभान्वित हुनेछन् । उक्त सहयोगले विद्यालयको डेक्स, बेन्चलगायत आवश्यक शैक्षिक पूर्वाधारमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ । चेक हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कौशल कोइराला र बैंक व्यवस्थापनका सदस्यहरूको पनि उपस्थिति थियो । बैंकले यसअघि पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ ।
बैकले हाल सबै क्षेत्रमा गरी तीन सय १९ शाखा कार्यालयहरू, चार सय ५२ एटीएम, एक सय सातवटा एक्स्टेन्सन काउन्टर एवं ५७ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । करिब २१ लाख ग्राहकहरूका साथ सञ्चालनमा रहेको बैंकको प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन्् । उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब तीन अर्ब १५ करोड रूपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेसीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।